काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले संसद्मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकविरुद्ध युवाहरूले आवाज उठाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन ।
‘हिजोबाट सामाजिक सञ्जालमा प्रोटेस्ट सुरु भएको छ । सरकारले दर्ता गरेको सामाजिक सञ्जाल विधेयकबारे आवाज सुरु भएको छ,’ बैठकमा उनले भनिन्, ‘यो आवाजलाई सरकारले सुन्छ ? यो आवाज उठाउँदै गर्दा सरकारको ध्यानाकर्षण गराउँछु ।’
उनले युवाहरूलाई बोलाएर विधेयकबारे थप छलफल गर्न सुझाव पनि दिएकी छिन् ।
सबै सांसदहरूले युवाहरूको आवजलाई उठाउनपर्ने सांसद श्रेष्ठको भनाइ थियो ।
युवाहरूलाई आग्रह गर्दै उनले भनिन्, ‘तपाईंहरूको आवाज यो सदनले सुन्नैपर्छ । अब सबै सांसदले युवाको आवाज सुन्न दिने ?’