काठमाडौँ । झापाको बिर्तामोडमा रहेको एक होटलमा युवकको शव फेला परेको छ।
गतराति युवतीसँगै होटलमा बास बसेका युवकको शव फेला परेपछि प्रहरीले उनीसँगै बसेकी युवती र होटल सञ्चालक महिलालाई पक्राउ गरेको छ।
बिर्तामोडको एभरेष्ट होटल एण्ड लजमा बास बसेका झापाकै हल्दीवारी–१ गोलधापका घर भएका ३० वर्षीय सागर बेस्राको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।
सागर गएराति सुनसरी घर भएकी २३ वर्षीया मुना बिकसँग सो होटलमा बास बसेका डीएसपी चन्दले जानकारी दिए।
प्रहरीले ती युवतीसँगै होटल सञ्चालक यामकुमारी उप्रेतीलाई पनि नियन्त्रणमा लिएको छ।
सागरसँगै बास बसेकी युवती सुनसरीको धरान–१५ घर भइ हाल झापामा बसोबास गर्दै आएकी थिइन्।
गएराति खाना खाएर उनीहरु सँगै सुतेका थिए। सागर राति कोठाभित्र बाथरुमको ढोकाको छेउमा लडर बेहोस भएको अवस्थामा आफूले देखेको बयान युवती दिएकी छन्।
त्यसपछि उनलाई युवती र होटल सञ्चालक महिलाले उपचारका लागि अस्पताल पुर्याएका थिए। चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको पाइएको डीएसपी चन्दले बताए। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको उनको भनाई छ।