काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका तीनै जनालाई धरौटीमा छोड्न आदेश भएको छ ।
शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, धरौटी बुझाउन नसक्दा एकजना कारागार चलान भएका छन् ।
दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ति गाउँपालिका–४ की ५५ वर्षीया सीतादेवी राई धरौटी बुझाएर रिहा भएका हुन । हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छन् । धरौटी तिर्न नसक्ने जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाै) का कार्यकर्ता हुन् ।
रास्वपा सभापति रवि लामिछाने मुछिएको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा गत माघ २ गते सहकारी पीडितका तर्फबाट बहस गरेर फर्किने क्रममा त्रिपाठीमाथि अदालत परिसरमा कुटपिट भएको थियो । रविविरुद्ध बहस गरेको भन्दै उनीमाथि आक्रमण भएको थियो ।
गत माघ २ गते बबरमहलमा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको पक्राउ परेका तीन जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको थियो ।