
रुकुमपूर्व । रुकुमपूर्व “क” वर्गमा वर्गीकृत हिमाली जिल्ला हो । यस जिल्लामा पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिका रहेको छ । जसमा भखर्रै मात्र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कनको नतिजामा रुकुमपूर्वमा भूमे गाउँपालिकाले उत्कृष्ट हासिल गरेको छ । गत माघ ३० गते राष्ट्रिय वित्तीय आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष ०८०/०८१ को कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार भूमे गाउँपालिका उत्कृष्ट घोषित भएको छ । यो उपलब्धी भूमेको लागि मात्र नभएर हिमाली रुकुमपूर्वको गर्वको विषय बनेको छ । स्थानीय सरकारको मुख्य दायित्व नागरिकलाई आवश्यक सेवा प्रदान गर्नु, पूर्वाधार विकासलाई प्रवद्र्धन र वित्तीय स्रोतको सही सदुपयोग गर्दै भूमे गाउँपालिकाले ७०.४ अंङ्क प्राप्त गरेर उत्कृष्ट हासिल गरेको हो
यति मात्रै नभएर भूमे गाउँपालिकामा योजनाबद्ध विकास, बजेटको पारदर्शी कार्यान्वयन, र प्रभावकारी बनाएको देखाएको छ । सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नागरिकलाई गुणस्तरीय सेवा प्रदानमा अहोरात्र खटेको परिणाम यस आर्थिक वर्षको कार्यसम्पादनले नतिजा दिएको छ ।
आर्थिक स्रोतहरूको उचित व्यवस्थापन र दिगो विकासका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै भूमे गाउँपालिकाले सबै पक्षमा उत्कृष्ट कार्यसम्पादनमा अन्य स्थानीय तहहरूका लागि भने मार्गदर्शनको भूमिका निर्वाह गरेको छ ।
देशमा धेरै स्थानीय तहहरू वित्तीय अनियमितता, अनियन्त्रित खर्च, र कमजोर सुशासनका कारण आलोचनाको पात्र बनेका छन् । तर भूमे गाउँपालिका कुशल नेतृत्वमा प्रशासन र समावेशी नीति बनाउँदै भूमेली नागरिकले सोचे चाहे जस्तो सेवा प्रदान गरेको छ । गाउपालिकाले आफुमा भएका गल्ती र कमीकमजोरीलाई सुदृढ गर्दै थप प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न गति बढाउँदै छ ।
अन्तमा स्थानीय सरकारहरू राष्ट्रको विकासको मेरुदण्ड हुन् । तसर्थ सबै स्थानीय तहले वित्तीय अनुशासन, पारदर्शिता र जनउत्तरदायी प्रशासनलाई अन्य तहहरूले पनि आत्मसात गर्न आवश्यक छ ।