काठमाडौँ, फागुन १२ । अख्तियारका पुर्व आयुक्त राजनारायण पाठकको बारेमा चाँडै नै सत्यतथ्य बाहिर आउने बताइएको छ । आइतबार आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले संघीय संसदको दीगो विकास तथा सुशासन समितिको वैठकमा बोल्दै भ्रष्टाचारीले कुनैपनि हालतमा उन्मुक्ति नपाउने बताएका हुन् ।
घिमिरेले भ्रष्टाचारमा मुछिएका पुर्व आयुक्तको बारेमा वरिष्ठ सचिवको संयोजकत्वमा गठित समितिले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको र चाँडै नै नतिजा दिने बताए । बैठकमा समिति सदस्यहरुले आयोगकै पदाधिकारी भ्रष्टाचारमा संलग्न भएको भन्दै आयोगका कामकारवाही बारे प्रश्न उठाएका थिए ।
आयोग भित्रका क्रियाकलापलाई निगरानी गर्न प्रमुख आयुक्तको प्रत्यक्ष नियन्त्रणमा १५ जनाको ‘इन्टलीजेन्स यूनिट ’स्थापना भएको भन्दै उनले केही आयोगका कर्मचारीहरु यूनिटको अनुसन्धानभित्र रहेको बताएका छन् ।
प्रमुख आयुक्त घिमिरेले वाईड वडी विमान खरिद प्रकरणबारे सह सचिवको संयोजकत्वको समितिले छानविन गरि बयान लिने काम गरिरहेको जानकारी गराएका छन् । त्यसैगरी सार्वजनिक जनसरोकारका संस्थामा हुने गरेका आर्थिक अनियमितता नियन्त्रणका लागि आयोगका अधिकारी नै सेवाग्राही बनेर जाने योजना अनुसार कार्यविधि तयार भईसकेको र सो अभियान चाँडै नै अगाडी बढ्ने बताए ।
आयोग एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भन्दै उहाँले नागरिक समाज, संचार माध्यम ,राज्यका अन्य संयन्त्र र आयोगको एकिकृत र समन्वयात्मक प्रयास हुनुपर्नेमा जोड दिएका छन् ।
उनले नागरिक निगरानी समूह गठन गरि केही जिल्लामा कार्यक्रम सुरु भईसकेको भन्दै सो कार्यक्रमको प्रभावकारिता हेरेर त्यसलाई परिमार्जन र विस्तार गर्दै लगिने बताए ।
सिमित क्षेत्राधिकारमा रहेर पनि आयोगले सरकारबाट संञ्चालित ठेक्काहरुमा भएको अनियमिततालाई अध्ययन गरिरहेको फेयरिस्त प्रस्तुत गर्दै सडक विभाग, सहरी विकाश र भवन निर्माण, नागरिक उड्डयन प्राधिकरण, स्थानीय पूर्वाधार विकास लगायतका १ हजार बढी ठेक्काको समय थप नभएको स्पष्ट पारे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा भ्रष्टाचार निवारण ऐन संशोधनको प्रस्ताव मन्त्रीपरिषद्मा रहेको भन्दै उनले त्यसलाई यथासक्य छिटो पूर्णता दिन सरकार र समितिको ध्यानाकर्षण पनि गराए ।
समिति सदस्यहरुले आयोगका पदाधिकारी नै भ्रष्टाचारमा संलग्न भएको भन्दै आयोगको काम कारवाहीबारे प्रश्न उठाएका थिए । त्यसैगरी वाईडवडी विमान खरिदमा भएको भ्रष्टाचार,जनसरोकारका सार्वजनिक संस्थानमा हुने आर्थिक अनियमितता लगायतमा आयोगको कामकारवाही बारे जिज्ञासा राखेका थिए ।
आयोगका आयुक्त राजनारायण पाठक नै घुस काण्डमा संलग्न भएको समाचार सार्वजनिक भएपछि समितिले प्रमुख आयुक्तलाई बैठकमा बोलाएको हो ।