
काठमाडौँ, फागुन १२ । आइतबारको राष्ट्रिय सभाको वैठकमा नेपाली विद्यार्थीहरु अस्ट्रेलियामा विचल्ली परेको विषयले प्रवेश पाएको छ । वैठकको शुन्य समयमा बोल्ने क्रममा सांसदहरुले विदेश पढ्न गएका विद्यार्थीहरु बिचल्लीमा परेको विषयमा छलफल गरेका हुन् । छलफलका क्रममा सांसद अनिता देवकोटाले कलेजको बारेमा सबै कुरा नबुझी अस्ट्रेलिया पठाउने कन्सल्टेन्सीहरुलाई कारवाहीको दायरामा ल्याउन समेत सरकारसंग माग गरेकी छिन् ।
आइतबारको राष्ट्रिय सभा वैठकको शुनय समयमा बोल्ने क्रममा सत्तापक्ष तथा प्रतिपक्ष दलका सांसदहरुले विकास निर्माणका कार्यहरुमा सरकारले गरेको ढिलासुस्ती प्रति ध्यानाकर्षण गराएका हुन् ।
मेलम्ची खानेपानी आयोग अन्तिम समयमा अलपत्र पर्नु, एनसेल टावरमा भएको आक्रमण, बुढीगण्डकी जलविद्युत आयोजना, सार्वजनिक जग्गाको संरक्षण लगायत विभिन्न विषयहरुमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद कमलाकुमाी वलीले केही दिनअघि आएको असिनापानीले इँट्टा उद्योगमा भएको क्षतिको पुर्ती सरकारले गर्नुपर्ने माग राखिन् । उनले सुदुरपश्चिम क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिनसमेत आग्रह गरेकी छिन् ।
सांसद बद्रीप्रसाद पाण्डेले सरकार गठन भएको एक बर्ष बित्दा समेत वहुमत भएको सरकारले कुनैपनि परिणाममुखी कामहरु नगरेको आरोप लगाए । मेलम्ची खानेपानी आयोजना विचैमा रोकिनु, ठेकेदार कम्पनी काम छोडेर भाग्नु, सबै सरकारको कमजोरी रहेको औँल्याएका छन् ।
नेकपा सांसद अगमप्रसाद बान्तवाले इलाम अस्पतालमा दरबन्दी अनुसारको चिकित्सकको व्यवस्था गर्न र अचैँचीको अर्गानिक परिक्षण गर्ने व्यवस्था गर्न माग गरेका छन् ।
त्यस्तै सांसद वृशेषचन्द्र लाले सन् १९५० को नेपाल–भारत सन्धीको पुनरावलोकन गर्न माग गरे । सांसद रामनारायण विडारीले मुलुकमा सम्पुर्ण कुराहरु अस्तव्यस्त भएको र सरकारलाई अगाडी बढ्न निकै चुनौती भएतापनी व्यवस्थित र सन्तुलित ढंगबाट अघि बढिरहेको बताए ।
रामलखन चमारले नवलपरासीको रामग्राम स्तुपा गौतमबुद्धको अस्थिधातु भएको एउटा मात्रै स्थान भएकाले त्यसलाई त्यसको संरक्षण र विकासका लागि बेग्लै कोष बनाउन सरकारसंग माग गरे ।
सांसद विमला आले रानाले प्रधानमन्त्री कृषि आधुनिक परियोजनाका पदाधिकारीबाट पदको दुरुपयोग गरेर राजनीतिक आस्थाका आधारमा आसेपासेलाई मात्र अनुदान दिने गरेको आरोप लगाउँदै त्यस परियोजनाबाट कृषक लाभान्वित हुन नसक्ने तर्क गरे ।
सांसद विमला पौडेलले एनसेलमा तोडफोड र आगजनी कुनै राजनीतिक उद्देश्यबाट प्रेरित नभई आतङ्ककारी र आपराधिक घटनाका रुपमा भएको बताइन् ।
अनिता देवकोटा अस्ट्रेलियामा एआइविटीको कलेज खारेजीपछि सयौँको सङ्ख्यामा नेपाली विद्यार्थी अलपत्र परेकाले त्यस्तो कलेजमा पढ्न पठाउन सिफारिश गर्ने परामर्शदातालाई कारवाहीको दायरामा ल्याउन माग गरेकी छिन् ।
सांसद उदय शर्माले सरकारले २५ वर्षअघि कौडीको मूल्यमा हरिसिद्धि इँट्टा तथा टायल कारखाना बेचे पनि न सरकारले पैसा पायो, न जनताले इँट्टा नै पाउन सके भन्दै यसबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे ।
खगेन्द्रप्रसाद पुरीले सल्यानलगायत मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रबाट सम्बन्धनका लागि सिफारिश भइआएका कलेजलाई त्रिभुवन विश्वविद्यालयबाट हालसम्म स्वीकृति प्रदान नहुनुको कारण के हो भनी प्रश्न गर्दै छिटो यो विषय टुङ्गोमा पुर्याउन आग्रह गरे ।
सांसद तारादेवी भट्टले मुलुकको आर्थिक विकासका परिसूचक एवम् विवादित वक्तव्य र निर्माला हत्यामा संलग्न अपराधीलाई पत्ता लगाउन नसक्दा देशको अन्तरर्राष्ट्रिय छवि खस्केको बताइन् । रासस