राजनीतिक सङ्कट बेहोरिरहेको भेनेजुएलामा मानवीय सहायता भित्र्याउने विषयमा गत सप्ताहन्तमा सीमामा भएका घातक झडपपछि अमेरिकी विदेशीमन्त्री माइक पोम्पेओले त्यहाँका राष्ट्रपति निकोलास मदुरोको ‘दिनगन्ती सुरु भएको’ बताएका छन्।
सीएनएनसँग बोल्दै विदेशमन्त्री पोम्पेओले भने, “यति नै दिन भनेर भन्न त गाह्रो छ। तर भेनेजुएलाका जनताले मदुरोको दिनगन्ती सुरु गराइदिनेमा म विश्वस्त छु।”
अमेरिका लगायतका देशहरुले पठाएको मानवीय सहायता छिमेकी ब्राजिल र कोलम्बियामा राखिएका छन्।
भेनेजुएलाको उत्तरी तटतर्फको समुद्री र हवाई सीमा समेत बन्द छ जसतर्फ रहेको एउटा डच टापु कुरासोमा समेत अमेरिकी राहत थुप्रिएको छ। तर मदुरोले सीमा बन्द गर्दै तिनको प्रवेश अवरुद्ध पारिदिएका छन्।
सोमवार त्यसको प्रतिक्रिया स्वरूप बोगोटामा हुने एक बैठकमा सहभागी हुन लागेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले केही ‘दरिला कदम’ र ‘कारवाही’ चाल्न लागेको ह्वाइटहाउसका एक वरिष्ठ अधिकारीले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समेत सैन्य कारबाहीको सम्भावनालाई अस्वीकार गरेका छैनन्।
अमेरिकाले राष्ट्रपति मदुरोविरुद्ध थप प्रतिबन्धहरु लगाउने तयारी गरिरहेको सङ्केत गरेको छ।
कोलम्बिया र ब्राजिलले समेत मदुरोमाथि सत्ता छाड्न बाध्य पार्नेगरी थप दबावपूर्ण रणनीति लिने बताएका छन्।
बैठकमा अमेरिकी उपराष्ट्रपति पेन्स, भेनेजुएलाका विपक्षी नेता ह्वान ग्वाइदो सहित लिमा समूहका १४ देशका नेताहरू सहभागी हुँदैछन्।
भेनेजुएलाको सेनाको अधिकांश हिस्सा अझै राष्ट्रपति मदुरो समर्थक रहेको बताइन्छ।
थोरै सङ्ख्यामा सेनाबाट विद्रोह गर्नेहरु पनि छन्। तिनैमध्येका एकसय भन्दा बढी भागेर अहिले कोलम्बिया पुगेको त्यहाँको अध्यागमनले जनाएको छ।
तर मदुरो सरकारले आफ्ना परिवारमाथि निशाना बनाउन सक्छ र देश फर्किए आफूहरुलाई समेत मारिदिन सक्छ भन्ने उनीहरूको चिन्ता छ।
उनीहरूमध्ये केहीलाई भेटेकी बिबिसी सम्वाददाताका अनुसार सैन्य नेतृत्व भ्रष्टाचारमा लिप्त छ र तिनकै भरमा मदुरो शक्तिमा रहन लडिरन्छन् भन्ने उनीहरूको बुझाइ छ।
तर आफ्नै जनताविरूद्ध हमला गर्नुपर्ने परिस्थिति आउन थालेपछि सेनामा ‘मदुरोका विरोधी’ बढिरहेको बताइएको छ।
सङ्कट
भेनेजुएलामा सङ्कट चुलिएसँगै अहिले ३० लाखभन्दा बढी नागरिकले खाद्यान्न र औषधिको खोजीमा देश छाडेको राष्ट्रसंघीय शरणार्थी नियोगले बताएको छ।
त्यहाँको महँगी लाखौं गुणा बढेको छ। जसकै कारण पेट्रोलियम पदार्थमा धनी देश भइकन पनि त्यहाँ ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव उत्कर्षमा पुगेको छ।
आफ्ना पूर्ववर्ती ह्युगो चाभेजको मृत्युपछि राष्ट्रपति निर्वाचित मदुरोको यो दोस्रो कार्यकाल हो। तर उनको नेतृत्वमा भेनेजुएलाको अर्थतन्त्र धराशायीजस्तै हुन पुगेको छ। बीबीसीबाट