भारतीय वायुसेनाले भारत-पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरेको दाबी पाकिस्तानी सेनाले गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटमा लेखेका छन् – मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गरेका थिए। त्यसपछि पाकिस्तानी सेनाले कारबाही गरेको छ।
उनले ट्वीटमा भनेका छन्, “भारतीय विमानहरूले मुजफ्फराबाद सेक्टरबाट घुसपैठ गरे। पाकिस्तानी वायु सेनाको तर्फबाट तत्काल र प्रभावशाली कारबाही भयो त्यसपछि उनीहरू भाग्न थाले।”
“भाग्दै गर्दा हडबडाएर उनीहरूले केही बम खसाए जुन बालाकोटनजिकै खसे। त्यसबाट कुनै हानि या कोही हताहत भएको छैन।”
भारत र पाकिस्तानबीच कश्मीरको पुलवामामा भएको आक्रमणपछि तनावको स्थिति रहेका बेला पाकिस्तानको यस्तो दाबी सार्वजनिक भएको छ।
फेब्रुअरी १४ का दिन भएको आक्रमण पाकिस्तानले गराएको आरोप भारतीय पक्षले लगाएको छ र उसलाई अलग्याइदिने चेतावनी दिएको छ। सो घटनामा ४६ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणकारी तथा षड्यन्त्रकारीहरूले महँगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए।
वार्ताबाट मात्र कश्मीरको विवाद समाधान गर्न सकिने तर भारतले सैन्य कारबाही गरे आफूले प्रत्युत्तर दिने उनले बताएका थिए। कश्मीर विवादकै कारण दुई देशबीच सन् १९४७ र १९६५ दुईचोटि युद्ध भइसकेको छ।
भारत प्रशासित कश्मीरको पुलवामामा एक आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ भरिएको एउटा गाडी भारतीय अर्धसैनिक बल सीपीआरएफका सुरक्षाकर्मीहरू बोकेका ७८ वटा गाडीहरूको लस्करमा लगेर जोतिदिएका थिए।
त्यसमा परेर ४६ जना को ज्यान गयो। ती आक्रमणकारी १९ देखि २१ वर्ष उमेर भएका स्थानीय कश्मीरी युवा भएको बताइएको छ।
पाकिस्तानी भूमिबाट सञ्चालित लडाकु समूह जैश-ए-मोहम्मदले सो घटना आफूले गराएको दाबी गरेको छ। भारतले भने पाकिस्तान नै सो आक्रमणमा संलग्न भएको आरोप छ।
त्यसको चार दिनपछि आक्रमणको प्रमुख योजनाकार मानिएका अब्दुल राशिद गाजीसमेत तीनजना सन्दिग्धहरू सुरक्षाकर्मीको कारबाहीमा मारिएका भारतीय सैनिक सूत्रले दाबी गरेको छ।