उपेन्द्र सेँडाई भन्छन्,– ‘मैले ७ जना विद्यार्थी पठाएको हुँ, सबैभन्दा चिन्ता मलाई छ’

दियो पोस्ट  

काठमाडौं, १५ फागुन । अष्ट्रेलियाको एआइबीटी कलेजको दर्ता खारेजी भएसँगै समस्यामा परेका विद्यार्थीको उद्दारका लागि नेपाल सरकार र अष्ट्रेलिया स्थित नेपाली राजदूतावासले पहल गरिरहेको छ ।
दर्ता नै नभएको कलेजमा विद्यार्थी पठाएको भन्दै आलोचना खपिरहेका केही कन्सल्टेन्सीले आफूले पनि विद्यार्थीको समस्या समाधानका लागि पहल गरिरहेको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा विवादित बनेका सनराईज एजुकेशन कन्सल्टेन्सीका सञ्चालक उपेन्द्र सेँडाईले आफ्नो कन्सल्टेन्सीबाट ७ जना विद्यार्थी एआइबीटि कलेजमा अध्ययनका लागि गएको स्विकार गरेका छन् ।
‘एआइबीटि कलेजमा देखिएको समस्या समाधानार्थ राज्यको विभिन्न निकायहरु, कलेजका प्रतिनिधि, विद्यार्थीहरु छाता संगठनहरुसँग निरन्तर सम्पर्कमा रही पहल गरिरहेको छु,’ दियोपोस्टको सम्पर्कमा आएका सेँडाईले भने,‘उक्त कलेजमा सनराईज कन्सल्टेन्सीबाट जम्मा ७ जना विद्यार्थीहरु पठाएको हुँ । सम्पूर्ण विद्यार्थीहरु तथा अभिभावकसँग निरन्तर सम्पर्कमा नै छु । समस्या समाधान गर्ने क्रममा नै छु ।’
सेँडाईले आफ्नो कन्सल्टेन्सीबाट गएको विद्यार्थीको सबैभन्दा चिन्ता लागेको समेत बताए । ‘सनराईजबाट गएका विद्यार्थीको सवालमा सबैभन्दा चिन्तित म आफै छु । जस्तोसुकै अवस्थामा पनि उक्त समस्याको समाधान गर्न म कठिबद्ध छु,’ सेँडाईले भने,‘मैले विद्यार्थीलाई धम्की दिने जस्तो गैह्र जिम्मेवार काम गरेको छैन ।’