सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रकोप भएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले आज विज्ञप्ति प्रकाशित गरी नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह गरेको हो ।
हुवेइको बुहानबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको हुँदा हुवेइमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको दूतावासले जनाएको छ । “नेपालीलाई ल्याउन जहाज चार्टर्ड गर्नका लागि काम भइरहेको र निश्चित हुनासाथ सोसम्बन्धी विवरण तत्काल उपलब्ध गराइने छ”, विज्ञप्तिमा भनिएको छ ।
दुतावासले फेब्रअरी २ अर्थात आज बिहान ९ बजेसम्म सम्बन्धित ब्यक्तिले फारम बुझाइसक्नुपर्ने जनाएको छ । दुतावासले तोकेको समयभन्दा ढिला गरि फारम बुझाइए मान्य नहुने जनाएको छ । स्वदेश फर्किन चाहने नेपालीहरुले भरेको फारमका आधारमा नै विमान चार्टर्ड गरिने हुँदा समयमै फारम भरिसक्न दुतावासले आग्रह गरेको छ ।

दूतावासले आफ्नो वेबसाइटमा एउटा फाराम राखिएको र फर्कन चाहनेले अनिवार्यरुपमा सो फाराम भर्नुपर्ने र नाबालकबाहेक प्रत्येक राहदानीवालाले भिन्दाभिन्दै फाराम भर्नुपर्ने र फाराम तोकिएको समयमा सम्बन्धित स्थानमा आइपुगिसक्नुपर्ने दूतावासले जनाएको छ ।
जापान, अमेरिका, अस्ट्रेलिया लगायतका देशहरुले चीनबाट आफ्ना नागरिकहरुलाई फिर्ता लगिसकेको छ । नेपालले भने भर्खरै तयारी थालेको हो । यसअघि दुतावासले चीनमा रहेका नेपालीहरु सुरक्षित रहेको जनाएको छ ।
यस्तो छ फारम

