काठमाडौँ, माघ १९ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले दबदवा कायम राखेको छ । गएराति साउथह्याम्टन बिरुद्धको खेलमा लिभरपुल ४–० गोलअन्तरले विजयी भएको हो । लिभरपुलको जितमा मोहम्मद सलाहले ७१ औँ र ९० औँ मिनेटमा गोल गरे । त्यस्तै एलेक्स ओक्सलेड र जोडर्न हेण्डरसनले एकएक गोल गरे ।
गएराति नै भएको खेलमा लेसेस्टर सिटी र चेल्सीले २–२ गोलको बराबर खेलेका छन् । लेसेस्टर सिटीको तर्फबाट ५४ औँ मिनेटमा हार्भे वर्नेस र ६४ औँ बेन चिलवेलले गोल गरेका थिए । चेल्सीको तर्फबाट भने दुबै गोल एन्टोनियो रुदिगरले गोल गरे । उनले ४६ औँ र ७१ औँ मिनेटमा गोल गरेका हुन् । त्यस्तै न्यू काशल र नर्विच सिटीले गोलरहित बराबरी खेलेका छन् । यसैगरि म्यानचेस्टर युनाइटेड र वोल्भ्स पनि गोलरहित बराबरी खेलेका छन् ।
अर्को खेलमा क्रिस्टल प्यालेस सेफिल्ड युनाइटेड संग १–० गोलले पराजित भएको छ । त्यस्तै वेस्ट ह्याम र ब्राइटनले पनि ३–३ गोलको बराबरी खेलेको छ । एभरटनले वार्टफोर्डलाई ३–२ गोलअन्तरले पराजित गरेको छ । एभरटनको जीतमा एरि मिनाले पहिलो हाफको अन्तिम समयमा २ गोल गरे । थिवो वाल्कोट र फेवियन डेल्फले एकएक गोल गरे । वार्टफोर्डका एडम मेसिनो र रोबेर्टो पेरियारले एकएक गोल गरे ।
अर्को खेलमा एस्टन भिल्लाबिरुद्ध बर्नमाउथ २–१ गोलले विजयी भएको छ । बर्नमाउथका फिलिप विलिङले ३७ औँ मिनेटमा गोल गरे भने नाथन एकीले ४४ औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५१ औँ मिनेटमा बर्नमाउथका जाफेरसन लेरमाले रातो कार्ड खाँदै बाहिरिएपछि टोली १० जनामा समेटिएको थियो । दोस्रो हाफको ७० औँ मिनेटमा एस्टन भिल्लाका ब्वाना समाताले जवाफी गोल फर्काएपनि हार टर्न सकेन ।
लिगको अंकतालिकामा लिभरपुलले दबदवा कायम राखेको छ । लिभरपुल ७३ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५१ अंक रहेको छ भने पछ्याइरहेको लेसेस्टर सिटीको ४९ अंक रहेको छ । ४१ अंकसहित चेल्सी चौथो स्थानमा रहेको छ ।