दियोपोस्ट संवाददाता
धादिङ, २० माघ । धादिङको बेनिघाट रोराङ गाँउपालिका स्थित् ताल्तिमा अबैध रुपमा मलेखु खोला दोहन गरिरहेको अबस्थामा स्थानियले चालक सहितको स्काभेक्टर नियन्त्रणमा लिएका छन् ।
दैनिक रुपमा विहान ३ बजेदेखि स्काभेटर र केहि ट्रिपर प्रयोग गर्दै लगातार मलेखु खोलामा अबैध उत्खनन् हुने गरेको थियो ।
मलेखु खोला दोहनको स्थानिय रुपमा ब्यापक बिरोध सुरु हुन थालेपछि स्थानिय नेकपा बेनिघाट–रोराङ गाँउपालीका २ का संयोजक समेत रहेका बिष्णु थापा र इन्चार्ज हेमराज भुजेल सहितको टोलीले सोमवार बिहान ५ बजे उक्त अबैध उत्खनन गरिरहेको स्काभेटरलाई नियन्त्रणमा लिएको स्थानीय सुनिल भूजेलले बताए ।
भुजेलका अनुसार, स्काभेटरले प्रत्येक दिन लगातार मलेखु खोलाबाट अबैध उत्खनन गरिरहेको थिए । स्थानीयले स्काभेक्टर सहित चालक जोगिमारा निबासी बर्ष ३० का मोहन घलेलाई समेत नियन्त्रणमा लिएका छन् ।

स्काभेटर नियन्त्रण पश्चात स्थानियको खबर पाएको ईलाका प्रहरी कार्यालय गजुरी र ताल्ती प्रहरीको टोली घटनास्थलमा पुगेका थिए ।
‘स्थानीयबासीले खबर गरेलगत्तै तत्कालै हामी घटनास्थल पुग्यौँ स्थानियले चालक सहित स्काभेटर नियन्त्रण गरिसकेका रहेछन् । घटनाबारे स्थलगत अध्ययन गरिरहेका छौँ । चालक र स्काभेटरको चावी हामीले जिम्मा लियौँ, प्रक्रिया अनुसार कारवाहि गर्छौँ,’ ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले भने ।
यता मलेखु खोलाबाट अबैध उत्खननमा प्रयोग गरिएको स्काभेक्टर स्थानिय समेत रहेका र्इश्वर रावलको रहेको स्थानियले बताएका छन् । स्थानियका अनुसार रावल बेनिघाट–रोराङ गाँउपालीका २ ताल्ती स्थीत विवादित युनाइटेड क्रसरका संचालक समेत हुन् ।
बेनिघाट–रोराङ गाँउपालीका पदाधीकारी तथा आफन्त समेतको लगानी रहेको भनिएको उक्त क्रसरलाई बेनिघाट–रोराङ गाँउपालीकाले गत बर्ष आफूसंग नभएको अधिकार प्रयोग गरेर सञ्चालन अनुमती दिएको थियो ।
रावलले रातभर नदि दोहन गरेर संकलन गरिएको नदिजन्य पदार्थ सोहि बिबादीत क्रसरमा लैजाने गरेको समेत स्थानीबासीहरुको भनाई छ ।
स्थानीय प्रशासन, प्रहरी र राजनीतिक दल सहितको मिलेमतोमा क्रसरलाई अबैध रुपमा काम गरिरहँदा समेत उन्मुक्ती दिँदैआइरहेको स्थानियको आरोप छ ।