काठमाडौँ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । ७२ वर्षीय पत्रकार शर्माको बुधबार बिहान निधन भएको हो । शर्माको उपचारका क्रममा निधन भएको उनका जेठा छोरा पञ्कज शर्माले जानकारी दिए ।
पछिल्लो समय उनको मृगौलामा समस्या देखिएको थियो भने पिसाबसम्बन्धी पनि समस्या रहेको थियो । उनको मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।
नेपाली सञ्चार जगतका अग्रणी शर्मा छापा तथा प्रसारण पत्रकारिताका अभिभावकसमेत रहेका थिए । नेपाल टेलिभिजनको महाप्रवन्धकसमेत रहेर काम गरिसकेका शर्माले नेपाल टेलिभिजनमा चलाउने कार्यक्रम विश्व घटना निकै चर्चित रहेको थियो ।
त्यसका साथै शर्माले रेडियो नेपालमा समेत समाचार बाचन गरेका थिए । इलाम जिल्लामा जन्मेका शर्मा वरिष्ठ साहित्यकार तारानाथ शर्माको भाइ समेत हुन् । शर्माका दुई छोरा र एक श्रीमति छन् ।