बालुवाटार जग्गा प्रकरणमा १ सय ७५ जनाविरुद्ध मुद्दा दायर, पूर्वमन्त्री लगायतको सम्पत्ति छानबिन सुरु

दियोपोस्ट संवाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा राखेर भ्रष्टाचार गरेको अभियोगमा राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र ठूला व्यापारीसहित एक सय ७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूसँग नौ अर्ब आठ करोड १४ लाख बिगो माग गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा छुट्टै मुद्दा दर्ता गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनालाई विपक्षी बनाउँदै बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको उक्त प्रकरणमा सीआईबीले सार्वजनिक पदको दुरुपयोगसहित कर्मचारी, भूमाफिया, तत्कालीन भोगाधिकारी र नक्कली मोहीविरुद्ध किर्ते र ठगीमा भिन्नै मुद्दा दर्ता गर्न लागेको हो ।

काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिइ सीआईबी यो प्रकरणमा मुद्दा दर्ताको तयारीमा जुटेको छ । सीआईबी आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारीमा छ । ०७५ फागुन २८ गते सरकारले ललिता निवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गर्न सीआईबी र अख्तियारलाई एकैपटक जिम्मा दिएको थियो । सीआईबीले १० महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन गत साता सरकारलाई बुझाएको छ ।

त्यस्तै, जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न उच्च राजनीतिक, प्रशासनिक व्यक्ति तथा व्यापारिक घरानामाथि सम्पत्ति शुद्धीकरकण विभागले पनि अनुसन्धान थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार यो प्रकारणमा संलग्न १ सय ७५ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बिहीबारबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि यो प्रकरणमा मुख्य भूमिका खेल्ने र अधिकतम लाभ लिनेहरूको सम्पत्ति छानबिन गर्न सुरु गरेको हो । विभागमा महानिर्देशक रूपनारायण भट्टराईले ‘पोलिटिकल्ली एक्सपोज’ भएकाहरूमाथि अधिकृत तोकेर अनुसन्धान थालिएको जानकारी दिए । विभागले यो प्रकरणमा जोडिएका पूर्वमन्त्री, सचिव र ठूला व्यापारिक घरानामा सम्पत्ति छानबिन गर्न सुरु गरेको हो ।

विभागले यसअघिदेखि नै पूर्वासचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतको सम्पत्ति छानविन गरिरहेको थियो । बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पूर्वसचिवहरू छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात पनि मुद्दामा मुछिएका छन् । सरकारी जग्गा व्यक्तिका नाममा लैजान मुख्य भूमिका खेल्ने व्यापारी मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि पनि भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियारले ललितानिवासको जग्गा प्रकारणको मात्रै छानबिन गरेर उनीहरूविरुद्ध मुद्दा दर्ता गरे पनि विभागले भने उनीहरूको सबै सम्पत्ति खोजेर स्रोत नखुल्ने सम्पत्ति जफत गर्ने गरी मुद्दा चलाउनेछ ।

सम्बन्धित खबर

सिफारिस