काठमाडौँ, माघ २३ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी वैठक बसेको छ । बुढानिलकण्ठस्थित पार्टी सभापती शेरबहादुर देउवाको निवासमा बिहान १० बजेदेखि पार्टीका शीर्ष नेताहरु वैठक बसेका हुन् । ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काँग्रेस उपसभापती विजय कुमार गच्छदारबिरुद्ध मुद्धा दायर गरेपछि छलफलको लागि वैठक बसेको हो ।
वैठकमा पार्टीले चाल्नुपर्ने कदमको विषयमा पार्टी निकटका काननु व्यवसायीहरुसँग छलफल गरेको हो । वैठकमा पदाधिकारीका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, मिनेन्द्र रिजाललगायतको सहभागिता रहेको छ । साथै संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल, राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डे, सचेतक सरिता प्रसाईको सहभागी छन् ।
यस्तै नेपाल डेमोक्र्या्टिक लयर्स एसोसिएसन (डिएलए) अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, पूर्वअध्यक्ष भरतप्रसाद खरेल, कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएशन महासचिव लिलामणि पौडेल र कानुनविज्ञ राधेश्याम अधिकारीलगायसँग छलफल भइरहेको छ ।
अख्तियारले बुधबार ललिता निवास प्रकरणमा दोषी करार गर्दै काँग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूसँग नौ अर्ब आठ करोड १४ लाख बिगो माग गरिएको छ ।