
काठमाडौं । पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणी कसूरमा किटानी जाहेरी परेको छ । ललितपुर महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध ललितपुर प्रहरी परिसर, जावलाखेलमा किटानी जाहेरी दिएकी हुन् ।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले खिउजुविरुद्ध किटानी जाहेरी आएको पुष्टि गरे । उनले भने, ‘जाहेरी आएको छ यद्यपि, दर्ता भइसकेको छैन । तयारी गरिरहेका छौं ।’
स्रोतका अनुसार बुधबार साँझ ५ बजे पीडित युवती ललितपुर प्रहरीमा पुगेकी थिइन् । उनले किटानी जोहरी दिएलगत्तै प्रहरीले पाटन अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको छ ।
एसएसपी राईका अनुसार पीडितले पत्रकार राजु बस्नेतविरुद्ध पनि उजुरी दिएकी छन् । ‘घटनालाई मिलाउन धम्की दिएको भन्दै ठाडो उजुरी परेको हो’, उनले भने । बस्नेतलाई घटना मिलाउन भन्दै आर्थिक प्रलोभन र दबाब दिएको पीडितको भनाइ छ ।