काठमाडौँ, माघ २३ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिहीबारको प्रतिनिधि सभाको वैठक अवरुद्ध गरेको छ ।
ललितानिवास प्रकरणमा आफ्नो दलका उपसभापती विजय कुमार गच्छदारसँग सरकारले राजनीतिक प्रतिशोध लिएको भन्दै नेपाली काँग्रेसले वैठक अवरुद्ध गरेको हो ।
काँग्रेस नेतृ पुष्पा भुसालले उपसभापती गच्छदारलाई काँग्रेस भएकै कारण ललितानिवास जग्गा प्रकरणमा नियोजित रुपमा फसाएको आरोप लगाएकी छिन् । सरकारले लोकतान्त्रिक अभ्यासको विरुद्धमा गएर नियोजित रुपमा राजनीतिक प्रतिशोधकै लागि उपसभापती गच्छदारलाई फसाएको नेतृ भुषालले बताइन् ।
ललितानिवासको १ सय १३ रोपनी जग्गा प्रकरणमा कसैलाई काखा र कसैलाई पाखा गरिएर मुद्धा दायर भएको कारण त्यसको मान्य नहुने समेत नेतृ भुषालले बताइन् । ‘लोकतन्त्रमा समान व्यवहार हुनुपर्छ, आज किन कसैलाई काखा कसैलाई पाखा ?’ , उनले प्रश्न गरिन्, सोही प्रकरणमा मुछिएका एकलाई मुद्धा अर्कोलाई छुटकारा त्यस्तो पनि हुन्छ ?’
नेतृ भुषालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विश्वसनियतामा समेत प्रश्न चिन्ह खडा भएको बताएकी छिन् । अख्तियारले दलिय प्रभावमा परेर मुद्धा दायर गरेको समेत उनले आरोप लगाएकी छिन् । वालुवाटार जग्गा प्रकरणको विषयमा पनि गच्छदारको संलग्नता नरहेको उनले बताएकी छिन् । तात्कालीन समयमा भौतिक पुर्वाधार तथा योजना मन्त्री रहेको भएपनि लालपुर्जा र जग्गाको कागजात बोकेर उहाँ आफै हिँड्नुभएको हो र ? नेता भुषालले प्रश्न गरिन् ।
सभामुख अग्नि सापकोटाले पटक पटक सदन चल्न दिनका लागि आग्रह गरेपनि नेपाली काँग्रेसका सांसदहरुले विरोध कायम राखेपछि प्रतिनिधि सभाको वैठक भोली दिउँसो १ बजे बस्ने गरि स्थगित भएको छ ।