चीनबाट ल्याइने नेपालीलाई शिवपुरी, इचंगुनारायण, खरिपाटी र सुर्यविनायकमा राखिने

दियो पोस्ट  

काठमाडौँ, माघ २२ । सरकारले चीनमा रहेका नेपालीलाई उद्धार गरेर चार स्थानमा राख्ने भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सम्बद्ध मन्त्रालय र उच्च सरकारी अधिकारीहरुसँग छलफल गरि चीन बाट उद्धार गरि ल्याइएका नागरिकहरुलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

छलफलबाट चीनबाट उद्धार गरि ल्याइने नागरिकहरुलाई शिवपुरी, इचंगुनारायण, सुर्यविनायक र खरिपाटी गरि ४ स्थानमा राखिने निष्कर्ष निकालेको हो । चाँडै नै ती क्षेत्रहरुमा क्वारेन्टाइन स्थल व्यवस्थित गरि उद्धार गरेर ल्याइएका नागरिकहरुलाई राख्ने व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् । सरकारले भने स्वदेश फर्काएपछि राख्ने ठाउँ तयार नभइसकेको भन्दै उद्धारमा ढिलाइ गरेको हो ।

छलफलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई लगायत उच्च अधिकारीहरु सहभागी थिए ।