मधेसी जनताको त्याग र बलिदान विर्सन मिल्दैन : प्रचण्ड

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न राजनीतिक परिवर्तनका क्रममा तराई मधेसका जनताले देखाएको त्याग र बलिदान विर्सन नमिल्ने बताएका छन् ।

बिहीबार सिराहाको सखुवान्नकारकट्टीमा आयोजित दोस्रो झण्डा महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको परिवर्तन मधेशी जनताको त्याग र बलिदानकै प्रतिफल भएको बताए । उनले तराईका जनतासँग आफ्नो अटुट प्रेम बसेको भन्दै त्यो टुट्न नदिने प्रतिवद्धता जनाए ।

सशस्त्र संघर्षदेखि नै आफु र तराई मधेसका जनताबीच प्रेम बसेको औल्याउदै अध्यक्ष दाहालले भने, ‘मेरो तराइ मधेस माइती घर हो, यहाँका जनतासँगको प्रेम पुरानै हो । म त्यो प्रेम टुटाउने पक्षमा छैन’, । उनले हिमाल, पहाड र तराईको एकतालाई मजबुत ढंगले जोडेर मात्रै अधिकार, विकास र सम्बृद्धिको यात्रामा सफल हुन सकिने बताए ।

आफु प्रधानमन्त्री भएका बेला तराई–मधेसका जनाताका लागि हुलाकी सडक विस्तार र सिञ्चाईका लागि गरेको पहलले सार्थकता पाउँदै गएको प्रचण्डको भनाई छ । हाल सत्तारुढ दलको अध्यक्षको हैसियतले पनि तराई मधेसको विकासका लागि आफुले गर्नसक्ने सबै सहयोग गर्न तयार रहेको बताए ।

‘निजगढ–काठमाडौं फास्टट्रयाक, पूर्व पश्चिम रेलमार्ग, तराईको विकास, चुरे संरक्षण र सिञ्चाईलाई प्राथमिकतामा राखेको छ’, प्रचण्डको दावी छ । प्रचण्डले जनआकाँक्षा अनुसार संविधान संशोधन गर्दै जान सकिने भन्दै सोही अनुसार संविधानमा संशोधनका प्रावधानहरु राखिएको र त्यसका लागि आफ्नो पार्टी तयार रहेको बताए ।