काठमाडौँ । बालुवाटार जग्गा अनियमितता प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टचार मुद्दालाई राजनीतिक पूर्वाग्रहपूर्ण भन्दै कांग्रेसको भातृसंस्था नेविसंघले शुक्रबार प्रदर्शन जारी राखेको छ ।
दिउँसो १ बजे नेविसंघको नेतृत्वमा माइतीघर मण्डलामा सुरु भएको प्रदर्शनमा कांग्रेसका निकट अन्य भातृसंस्थाहरु पनि सहभागि छन्।कम्युनिस्ट नेताहरूलाई बचाएर कांग्रेस नेतालाई फसाउने र बदनाम गर्ने तरिकाले मुद्दा दायर भएको विरोधमा प्रदर्शन गर्न लागेको नेविसंघ महामन्त्री दीपक भट्टराईले बताए।
अख्तियारको बदनियतपूर्ण कदम नसच्चिदासम्म आफूहरुको आन्दोलन जारी रहने भट्टराईले बताए।बिहीबार साँझ पार्टी कार्यालय सानेपा बोलाएर कांग्रेस उपसभापतिद्वय गच्छदार, विमलेन्द्र निधि, सहमहामन्त्री प्रकाशशरण महत तथा प्रमुख सचेतक बालकृष्ण खाणले भ्रातृसंस्थाका प्रमुखलाई अख्तियारको राजनीतिक पूर्वाग्रहपूर्ण निर्णयका विरुद्ध आन्दोलन गर्न निर्देशन दिएका थिए। त्यही निर्देशन बमोजिम नेविसंघले प्रदर्शन गर्न लागेको हो। आइतबार तरुण दलले प्रदर्शन गर्ने जनाएको छ।