त्रिकोणात्मक सिरिजः नेपालद्धारा ओमनसामु २५० रनको लक्ष्य प्रस्तुत, ज्ञानेन्द्र मल्लको अर्धशतक

दियो पोस्ट  

काठमाडौँ, माघ २६ । आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजमा ओमनबिरुद्धको दोस्रो खेलमा नेपालले २ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले निर्धारित ५० ओभर खेल्दै ८ विकेट गुमाएर २ सय ४९ रन बनाएको हो ।

नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकिय पारि खेले । उनले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाएका थिए । ओपनिङ ब्याटिङमा आएका सुवास खकुरेलले ४२ बलमा १ चौका प्रहार गर्दै २२ रन बनाए । त्यस्तै पुर्व कप्तान पारस खड्काले ३८ रन बनाए । उनले ३४ बलमा ६ चौका र १ छक्काको विस्फोटक ब्याटिङ गरे । विनोद भण्डारीले ४७ बलमा ५ चौका प्रहार गर्दै ३५ रन बनाए ।

त्यस्तै आरिफ शेखले २८ रन बनाए । उनले ४५ बल खेल्दै १ चौका प्रहार गरे । कुशल मल्लले २४ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २८ रन बनाए । करन केसी १० रन बनाउँदै पवेलियन फर्किए । दिपेन्द्रसिंह ऐरि ० रन बनाएर आउट भएका थिए । सन्दीप लामिछाने १० रन र कमल सिंह ऐरि ९ रनमा नट आउट रहे ।

ओमनको लागि अकिब इल्यास सुलेरी र मोहम्मद नादिमले क्रमश ४ र ३ विकेट लिए ।