काठमाडौँ, माघ २६ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन तरुण दल र नेविसंघले पार्टीका उपसभापती विजय कुमार गच्छदारको बचाउ गर्दै राजधानीको माइतीघरमा नाराबाजी गरेको छ । आइतबार तरुणदल अध्यक्ष जीतजंग बस्नेतवको नेतृत्वमा भएको प्रदर्शनको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध र बदनीयतपुर्ण ढंगले उपसभापती गच्छदारलाई मुद्धा लगाएको आरोप लगाइएको हो ।
नेविसंघका अध्यक्ष राजिव ढुंगानासहितको उपस्थितीमा भएको प्रदर्शनमा अख्तियार बिरुद्ध नाराबाजी गरिएको थियो । ‘दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो। विभेद गर्न पाइँदैन, कठपुतली अख्तियार चाहिँदैन। नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार’ जस्ता नारा लगाइएका छन् ।
ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको भन्दै अख्तियारले गच्छदारविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेपछि कांग्रेसले सदन र सडकबाट विरोध गरिरहेको छ।
ललितानिवास जग्गा प्रकरणमा मुछिएका सत्तारुढ दलका शीर्ष नेताहरुलाई भने अख्तियारले जोगाएको भन्दै चौतर्फी बिरोध भएको हो । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने बयान दिएको भन्दै अख्तियारले उनीविरूद्ध मुद्दा दर्ता गरेको थिएन। पौडेलले जग्गा सरकारलाई फिर्ता गरिसकेका छन्।
अख्तियारको कदम विभेदपुर्ण भएको भन्दै काँग्रेसले २ पटकसम्म सदन अवरुद्ध गरिसकेको छ ।