काठमाडौँ, माघ २७ । चीनमा रहेका नेपालीलाई उद्धार गरि स्वदेश फिर्ता गर्नका लागि विमान पठाइने भएको छ । नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३० ) विमान फागुन ३ गते चीन पुग्ने पर्यटन मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि सरकारले उक्त कदम चालेको हो । अन्य देश हरुले चीनबाट आफ्ना नागरिकहरुलाई फिर्ता लगिसकेपनि नेपालले भने आफ्नो तयारी पुरा गरिनसकेको कारण केही ढिलाई गरेको हो ।
चीनमा रहेका नेपालीहरुले आफुहरुलाई स्वदेश फिर्ता गर्नका लागि त्यहाँको नेपाली दुतावासमा निवेदनसहितको फारम भरिसकेका छन् । दुतावासले चीनमा रहेका नेपालीहरु सुरक्षित रहेको समेत दावि गर्दै आएको छ । चीनबाट ल्याइएका नेपालीहरुलाई काठमाडौँ र भक्तपुरका केही स्थानहरुमा क्वारेन्टाइनको व्यवस्था गरि निगरानीमा राख्नका लागि आवश्यक पुर्वाधारहरु तयार गरिरहेको छ ।
नेपाल सरकारले चीनमा कोरोनाभाइरसले महामारीको रुप लिएपछि त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि विशेष समिति नै गठन गरेको छ । समितिमा परराष्ट्र र स्वास्थ्य मन्त्रालय र नेपाल एयरलाइन्सका प्रतिनिधिहरु समेत रहेका छन् ।