रेडियो नेपालका कर्मचारीले २ महिनादेखि तलब पाएनन् !

दियो पोस्ट  

काठमाडौँ । रेडियो प्रसार सेवा बिकास समितिद्वारा संचालित रेडियो नेपालका कर्मचारीहरुले बिगत २ महिनादेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन् । संस्थाका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीलाई पत्र लेख्दै कर्मचारीहरुले छिटो भन्दा छिटो पारिश्रमिक उपलब्ध गराउन माग गरेका हुन् ।

रेडियो नेपालले नेपालको प्रशारण इतिहासमा लामो र महत्वपूर्ण भुमिका निर्बाह गर्दै आइरहेको र संस्थाको हित तथा बिकासमा रेडियो नेपालका सम्पूर्ण संचारकर्मी एंव कर्मचरीहरुको महत्वपूर्ण योगदान रहेता पनि समयमा पारिश्रमिक नपाउँदा संस्थाले तोकिदिएको जिम्मेवारी पुरा गनै समेत समस्या भएको पत्रमा उल्लेख छ ।

प्रेस संगठन, रेडियो नेपाल शाखाका संयोजक यशोदा अधिकारी र सह–संयोजक तुलसी सापकोटाद्वारा हस्ताक्षरित उक्त पत्रमा भनिएको छ, ‘कर्मचारीहरुले २ महिनासम्मको मासिक पारिश्रमिक पाउन सकेका छैनन्, पारिश्रमिक नपाउँदा उनीहरुको मनोबल खस्किने र त्यसको असर संस्थाको काम कार्वाहीमा समेत पर्न थालेको छ । जसले गर्दा सिंगो संस्थाकै प्रभावकारितामा ह्रास हुँद जाने र अन्तत संस्था नै धरासायी हुने खतरा उत्पन्न हुन सक्छ ।’ यस तर्फ समय मै ब्यवस्थानले ध्यान पुर्याउन नसकेको उनीहरुको आरोप छ ।

संस्थामा कार्यरत कर्मचारीहरुकोे बृत्तिबिकास समेत अबरुद्ध भएको र नियम अनुसार समयमै हुनु पर्ने कर्मचारीको बढुवा समेत हुन नसकेको भन्दै पत्र मार्फत निर्देशक कार्कीको ध्यानाकर्षण गराइएको छ । कर्मचारीलाई समयमा पारिश्रमिक उपलब्ध गराउँन र भविष्यमा संस्थाले भोग्नु पर्ने आर्थिक संकटको अवस्था सिर्जना हुन नदिने समेत पत्र मार्फत ध्यानापकर्षण गराइएको छ ।