पर्यटकीय गन्तव्यमा दुधकुण्ड, प्राकृतिक सुन्दरतासंगै धार्मिक महत्व बढ्दै

दियो पोस्ट  

उद्धब बिश्वकर्मा

चरिकोट । दोलखाको रोल्वालिङ पदमार्गमा पर्ने दुध कुण्ड प्राकृतिक सुन्दरतासंगै सांस्कृतिक महत्वको पर्यटकीय गन्तव्य हो । चार हजार पाँच सय मीटरको उँचाईमा रहेको दुधकुण्ड बिभिन्न हिमश्रृङ्खलाले घेरीएको निक्कै आकर्षक पर्यटकीय गन्तव्य हो ।

प्रसिद्ध च्छो रोल्पा हिमताल भन्दा दुई घण्टा उकालो गएपछि दुधकुण्ड पुग्न सकिन्छ ।

रोल्वालिङ पदमार्गमा पर्ने बेदीङ, ना, ठाङ्दीङमा लगायतका शेर्पा समुदायका मानिसले चौरी गोठ सार्ने बेलामा दुधकुण्डमा पुजा गर्ने गर्दछन् । जनै पूर्णिमाको दिन ठूलो मेला लाग्ने दुध कुण्डमा पुजा गर्दा पशुलाई नोक्सानी नहुने स्थानियको विश्वास रहेको छ । यसरी पुजा गर्दा पशुलाई कुनै रोग नलाग्ने, जङ्गली जनावरले समेत नोक्सान नगर्ने र गाँउलेलाई कुनै समस्या नहुने जनविश्वास रहेको ठाङ्दीङकी स्थानिय रिकु शेर्पा बताउछन् ।

विगतमा रोल्वालिङ पदमार्गमा आउने पर्यटकहरुको अन्तिम गन्तव्य च्छो रोल्पा हिमताल हुने गरेकोमा अहिले दुईघण्टा माथि रहेको दुध कुण्ड र त्यो भन्दा एक घण्टा माथि रहेको हलेसी गुफासम्म पनि पुग्ने गरेको रिकु शेर्पाले बताए ।

पाँच हजार मीटरको उँचाईमा रहेको हलेसी गुफामा गुरु रेम्पोचे ज्ञान प्राप्तिको लागि बसेको विश्वास रोलवालिङ क्षेत्रका स्थानियको रहेको छ । गौरीशङ्कर, यलुङ री, रम्दुङ, फर्छेमु लगायतका हिमश्रृङ्खलाले घेरीएको च्छो रोल्पा, दुधकुण्ड र हलेसी गुफा चैत्र बैशाख देखि साउन, भदौसम्म दुई सय भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेको स्थानिय फुर्वाठिले शेर्पा बताउछन् ।

दुध कुण्ड पुग्न सदरमुकाम चरिकोटबाट दुई घण्टाको बस यात्रामा सिमिगाँउ पुग्ने र त्यहाँबाट तीन दिनको पैदल यात्रा गर्नु पर्ने स्थानिय रिकु शेर्पाले बताए । रोलवालिङ पदमार्गमा अहिले प्रयाप्त संख्यामा होम स्टे र केहि सुविधा सम्पन्न होटलहरु समेत रहेकोले च्छो रोल्पा, दुधकुण्ड, हलेसी गुफा लगायतका पर्यटकीय गन्तव्य पुग्न समस्या नहुने स्थानिय फुर्वाठिले बताए ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।