काठमाडौँ, माघ २९ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोनाभाइरससँग मिल्दाजुल्दा लक्षण सहित बिरामीहरु भेटिएका छन् । गाउँपालिकाको ३ नम्बर वडास्थित गुम्वाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् । चिनसँग सिमाना जोडिएको कारण पनि सिन्धुपाल्चोकमा कोरोनाको जोखिम बढेको हो ।
कोरोनाभाइरससँग मिल्दाजुल्दा बिरामी भेटिएपछि स्थानीय त्रसित भएका छन् । अत्याधिक ज्वरो, रुघा खोकी जस्ता बिरामीहरु बढ्न थालेपछि गुम्बावस्तीमा त्रास फैलिएको हो । स्थानीय स्वास्थ्यकर्मीहरुले चेकजाँच गरि औषधी खुवाइएको भएपनि कुनैपनि असर नपरेको गाउँपालिकाले जनाएको छ ।
कोरोनासँग मिल्दाजुल्दा लक्षण भेटिएपछि जुगल गाउँपालिकाले स्वास्थ्यमन्त्रालयलाई पत्र नै पठाएको छ । पत्रमार्फत जुगलको गुम्वाबस्तीमा फैलिएको रोग पत्ता लगाइदिन सरकारलाई आग्रह गरिएको छ । ‘ गुम्बावस्तीमा माघ २७ गते देखि हाल विश्वमा फैलिरहेको नोवल कोरोनाभाइरसको लक्षण सँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वरोजस्ता लक्षणका बिरामीहरु देखा परेको हुँदा सोको परिक्षण गरि रोग पहिचानका लागि विशेष टोली खटाई आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर बिकले जारि गरेको पत्रमा उल्लेख गरिएको छ ।