दोलखामा सम्वन्ध बिच्छेद गर्नेकाे संख्या अहिलेसम्मकै उच्च

दियोपोस्ट संवाददाता

दोलखा । जिल्ला अदालत दोलखामा सम्बन्धविच्छेद गराउनेको संख्या अहिलेसम्मकै उच्च रहेको छ । यसवर्ष १ सय ३८ थान मुद्दा सम्बन्धविच्छेदका दर्ता भएका छन् ।

अदालतका अनुसार दर्ता भएका मुद्दामध्ये ३१ वटा फस्र्यौट भइसकेका छन् । अर्थात् ३१ जोडीले सम्बन्धविच्छेद गरेका छन् । चालू आवमा परेका ८० थानमध्ये ४७ थान महिलाले र ३४ थान पुरुषले मुद्दा दर्ता गराएको अदालतले जनाएको छ ।

२०७४ भदौ १ देखि पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने प्रावधानसहितको संहिता लागू भए पनि अदालतमा दर्ता भएका मुद्दामा पुरुषभन्दा महिलाको संख्या बढी रहेको अदालतका सूचना अधिकारी एकरामुल हकले बताए ।

मुलुकी देवानीसंहिता २०७४ को दफा ९६ मा सम्बन्धविच्छेद गर्न चाहने पति वा पत्नीले अदालतमा निवेदन दिन सक्नेछ भन्ने उल्लेख छ । ऐनले एक वर्ष मेलमिलापका लागि कुर्ने भनेको भए पनि त्यसपछि सम्बन्धविच्छेदमा जाने भएकाले समाजमा विकृति बढेर जानेमा उनले चिन्ता व्यक्त गरे । बाबुआमा सम्बन्धविच्छेद गरेपछि उनीहरुका सन्तानलाई हुने असरका बारेमा समयमा नै सोच्न नसकिएमा समाजमा विकृतिको अवस्था सिर्जना हुने उनले बताए ।

सम्बन्धविच्छदेका लागि महिला, पुरुष दुवैतर्फबाट मुद्दा दर्ता हुनेक्रम बढेको छ । सम्बन्धविच्छेद बढ्नुको मुख्य कारण वैदेशिक रोजगारी, गरिबी, झैँझगडा र स्वतन्त्र रहन चाहनु रहेको उनले बताए । त्यसैगरी माघ २३ गतेसम्म अदालतमा करणीसम्बन्धी १९ थान मुद्दा दर्ता भएकोमा २ थान मात्र फस्र्यौट भएको छ । चोरीका १३ थान मुद्दा दर्ता भएकोमा फस्र्यौट हुन बाँकी रहेको जिल्ला अदालत चरीकोटले जनाएको छ ।