धनुषा । धनुषास्थित ढल्केवर औरही खोलामा भएको अबैध गिट्टी बालुवा उत्खनन् रोक्ने क्रममा स्थानीय दिलीपकुमार महतोको हत्या गर्ने तीन जनालाई आरोपीमा पूर्वपक्षका लागि कारागार चलान गरिएको छ । धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले महतोको हत्यामा संलग्नलाई थुनामा राख्ने आदेश दिएको हो ।
आरोपी क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो र सह चालक जितेन्द्र महतोलाई जलेश्वरस्थित कारागार चलान गरिएको धनुषा जिल्ला अदालतले जनाएको छ । आरोपी मध्ये ३ जनालाई धरौटीमा रिहा गरिएको अदालतले जनाएको छ ।
धनुषा जिल्ला आदलतको आदेशमा टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि जेल चलान गरिएको हो ।
पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका साथी रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुधन महतो प्रति २५ हजार रुपैया धरौटी बुझाएर साधारण तारेखमा रिहा गरिएको छ ।
घर नजिक रहेको औरही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन रोक्न गएको बेला टिपरले किचेर धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ स्थित श्रीपुरका २४ वर्षीय युवक दिलीप कुमार महतोको हत्या भएको थियो ।
खोला उत्खनन भइरहेको जानकारी पाएपछि गएको २५ पुसको बिहान दिलीपकुमार महतो र उनका साथी रोशनकुमार यादवसँगै खोलामा गएका थिए । यता साथी रोशनकुमार यादवको भने हत्यामा संलग्नता नदेखिएकाले अदालतले सामान्य तारेखमा रिहा गरेका छन् ।