बुटवल । राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको आज बिहान निधन भएको छ । लामो समय देखि क्यान्सर रोगको उपचार गराइरहेका उपाध्यायको ५० वर्षको उमेरमा लुम्बिनीस्थित आफ्नै निवासमा निधन भएको हो ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंं. १० का स्थायी निवासी उपाध्याय २०७४ मा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए । उपाध्यायको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारपछि केही दिन अघि घर फर्काइएको थियो ।
२०५४ सालमा साविकको मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित उनी २ पटक कांग्रेस रुपन्देही क्षेत्र नंं ५ को क्षेत्रीय सभापति र त्यसयता महाधिवेशन प्रतिनिधि थिए ।
उपाध्यायका श्रीमती, तीन छोरा र दुई छोरी छन् । उपाध्यायको लुम्बिनीमै अन्त्येष्टी गरिने बताइएको छ ।