सप्तरी । आयोजकले प्रतिवद्वता पूरा नगरेको भन्दै मुस्लिम समुदायले सप्तरीमा गर्न लागेको धार्मिक सभामाथि गृह मन्त्रालयले रोक लगाएको छ । मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गर्न आदेश दिएको हो ।
धार्मिक सभामा नेपालसहित भारतका मात्रै मुस्लिम धर्माम्बलीको सहभागिता हुने बताइए पनि विश्वका धेरै देशका मुस्लिम धर्मावलम्बीहरुको सहभागिता गराइएका कारण सभा रोक्नु परेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।
गृह मन्त्रालयले कार्यक्रम स्थगन गर्ने आदेश दिएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले बोदे बर्साइन नगरपालिकाको जाँजरमा ठूलो संख्यामा प्रहरी खटाएको छ । बिहीबार दिउँसो ४ बजेदेखि नेपाल भारत सीमासमेत सिल गरिएको सप्तरी जिल्ला प्रशासनले जनाएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म यो धार्मिक सभाको आयोजना गरिने तयारी थियो । यसका निम्ति सबै तयारी पूरा भइसकेको आयोजक समितिले बताएको छ ।
सयौं बिघा जग्गा ओगटेको धार्मिक सभा (इज्तेमा स्थल) मा हजारौंको संख्यामा मानिस अटाउने क्षमताको पण्डाल बनाउने काम अन्तिम चरणमा पुगेको छ । विशिष्ट अतिथिहरूलाई बस्न समेत केही थप पण्डालको निर्माण गरिएको छ । कार्यक्रमस्थलमा दुुई हजारको संख्यामा अस्थायी शौचालय निर्माण भएको छ भने पण्डालको चारैतिर सहज आवत-जावतका लागि अस्थायी सडकको निर्माण कार्यसमेत पूरा भइसकेको छ ।
भीडभाडको व्यवस्थापन, सुरक्षा व्यवस्था, खानेपानी तथा सरसफाइको समस्या, खानपीन तथा आवासीय समस्या, सम्भाव्य आगलागी, चोरी, स्वास्थ्य शिविर, नजिकको बोर्डरमा प्रवेश सम्बन्धी तयारी गरिसकिएको छ । कार्यक्रमका लागि करिब २ करोड खर्च भइसकेको आयोजकले बताएका छन् ।