संस्कार र सभ्यता सिकाउने प्रधानमन्त्री, छाडा बोल्ने संचारमन्त्री !

संस्कार र सभ्यता सिकाउने प्रधानमन्त्री, छाडा बोल्ने संचारमन्त्री !

काठमाडौँ, फागुन ८ । गत माघ ६ गते प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रका नेता कार्यकर्ताले अपनाउनुपर्ने आचारसंहिता समेटिएको ११ बुँदे प्रतिवेदन सार्वजनिक गरेका थिए । दुई अध्यक्षले संयुक्त रुपमा तयार पारिएको उक्त पत्रमा पार्टीका नेता कार्यकर्ताले बोल्ने भाषा र कस्तो व्यवहार देखाउने भन्ने बारेमा उल्लेख गरिएको थियो ।

पत्रमा आफ्नै घर परिवारका सदस्यहरुलाई समेत तँ भन्न नपाईँने कुरा उल्लेख गरिएको थियो । पत्रको बुँदा नम्बर ‘ङ’ को २ नम्बरमा ‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ। कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरूपले बन्द गर्नुपर्छ,’ भनि उल्लेख गरिएको थियो ।

त्यतिमात्र होइन विभिन्न सार्वजनिक कार्यक्रमहरुको बिचमा पनि प्रधानमन्त्री ओलीले पत्रकारहरुले लेख्ने भाषाशैलीको विषयमा पटकपटक कुरा उठाउँदै आएका छन् । उनले पत्रकारले पदीय मर्यादामा रहेका ब्यक्तिहरुलाई सम्मानजनक सम्वोधन नगरेको आरोप लगाउँदै आएका छन् । संचारमन्त्री बास्कोटाले समेत पत्रकारहरुले प्रयोग गर्नुपर्ने भाषाको विषयमा चर्को ज्ञान दिँदै आएका छन् ।

बिहीबार सरकारका प्रवक्ता तथा संचार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाको टेलिफोन रेकर्ड सार्वजनिक भएको छ । जसमा उनले कर्मचारीहरुलाई निकै अश्लील शब्द प्रयोग गर्दै गाली गरेका छन् ।

सेक्यूरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदका लागि स्वीस कम्पनीका एजेन्ट विजय मिश्रसँग भएको टेलिफोन बार्गेनिङमा मन्त्री बास्कोटाले २ पटकसम्म मु… को उच्चारण गर्दै कर्मचारीलाई गाली गरेका छन् । यसबाट सरकारमा रहेका उच्च पदस्त व्यक्तिले जनतालाई सभ्यता सिकाउँदै हिँड्दा आफुले भने सभ्यता भुलेको प्रस्ट देख्न सकिन्छ ।

प्रधानमन्त्री र अर्का अध्यक्ष प्रचण्डले जारि गरेको आचारसंहिताको उनकै पार्टीका मन्त्रीले धज्जी उडाइदिएका छन् । मन्त्री जस्तो मर्यादित जिम्मेवारमा बसेका व्यक्तिले बोल्ने भाषाशैली पनि त्यही अनुसारको मर्यादित हुनुपर्ने हो ।

मन्त्री बास्कोटाले आफुमाथि लागेको आरोपमाथि पत्रकार सम्मेलन गरिसकेका छन् । पत्रकार सम्मेलनमार्फत उनले भ्रष्टाचार र कमिशनको बारेमा मात्र बताए । अडियोमा प्रयोग भएका भाषाशैलीको बिषयमा भने उनि मौन बसे ।

Trending News