काठमाडौँ, फागुन ८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बिहीबारको प्रतिनिधि सभा वैठक अवरुद्ध गरेको छ । संचारमन्त्री गोकुल प्रसाद बासकोटा भ्रष्टाचार प्रकरणमा जोडिएको प्रमाण सार्वजनिक भएपछि कारवाहीको माग गर्दै काँग्रेसले सदन अवरुद्ध गरेको हो ।
नेपाली काँग्रेसका प्रमुख सचेतक पुष्पा भुषालले सेक्युरिटी प्रेस खरिदमा संचारमन्त्रीको भ्रष्टाचार प्रकरणबारे प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने बताएकी छन् । प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रीपरिषदकै सदस्यबाट भ्रष्टाचार र कमिशनको डिल भएको कारणले यसको जिम्मेवारी स्वतः प्रधानमन्त्रीले लिनुपर्ने बताएकी छन् ।
प्रकरणबारे प्रधानमन्त्री स्वयम् सदनमा उपस्थित भएर जवाफ दिन समेत उनले माग गरेकी छिन् । बिहीबारको सदन अवरुद्ध गर्दै उनले सरकारसमक्ष ३ सर्त अघि सारेकी हुन् । पहिलो सर्तअनुसार संचारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्नुपर्ने, दोस्रोमा भ्रष्टाचार प्रकरणको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने र तेस्रोमा बास्कोटालाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने रहेका छन् ।
सचेतक भुषालले बालुवाटार जग्गा काण्डमा विष्णु पौडेललाई जोगाए जसरी भ्रष्टाचार प्रकरणमा बास्कोटालाई जोगाउन नखोज्न समेत माग गरेकी छिन् । विष्णु पौडेलले जग्गा फिर्ता गरेको भन्दै कारवाहीबाट जोगाएजसरी पदबाट राजिनामा गर्दैमा बास्कोटालाई जोगाउन खोजिए प्रतिपक्षी दल नेपाली काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिँदै वैठक अवरुद्ध गरेको छ ।