काठमाडौँ, फागुन ९ । घुसकाण्डमा मुछिएपछि राजिनामा दिएका संचारमन्त्री गोकुल प्रसाद बास्कोटाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ । सेक्यूरिटी प्रेस खरिदको विषयमा कमिशनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि आयोगले छानविन शुरु गरेको हो ।
मन्त्री पदबाट राजिनामा गरे लगत्तै अख्तियारले बास्कोटाबिरुद्ध छानविन थालेको हो । बिहीबार नै अख्तियारको टोलीले बास्कोटाको कार्यकक्षमा छापा मारि कागजात नियन्त्रणमा लिइसकेको छ । अडियो रेकर्डबारे सामाजिक संजाल र संचारमाध्यममा आएका विषयहरुको सत्यतथ्य पत्ता लगाई आवश्यक कानुनी कारबाही अगाडी बढाउने अख्तियारको तयारी छ । बाँस्कोटाले भ्रष्टाचार उद्योग गरेको ठहर भएमा ८ वर्षसम्म कैद र बिगोको आधार सजाय हुन सक्नेछ।
अडियो सार्वजनिक भएपछि आफुले नैतिकताको आधारमा पदबाट राजिनामा गरेको बास्कोटाले बताएका थिए । अडियो रेकर्ड सार्वजनिक गरेर सांसदबिरुद्ध भ्रम फैलाउन खोजिएको भन्दै विजय प्रकाश मिश्र र प्रकाशकिशोर उपाध्यायलाई साइबर क्राइम अन्तर्गत कारवाही गर्न लेखा समितिले निर्देशन दिइसकेको छ ।