नेकपा कार्यदलले ‘एमसीसी’ प्रतिवेदन आजै पार्टीलाई बुझाउने

नेकपा कार्यदलले ‘एमसीसी’ प्रतिवेदन आजै पार्टीलाई बुझाउने

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न बनेको कार्यदलले आफ्नो प्रतिवेदन तयार पारेको छ । शुक्रबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरवारमा करिब साढे पाँच घण्टासम्म बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार पारेको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदलले उक्त प्रतिवेदन पार्टीलाई बुझाउने बताइएको छ । वरिष्ठ नेता झलनाथ खनाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सम्मिलित कार्यदलले सम्भव भएसम्म साँझसम्ममा पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

कार्यदलका सदस्य रावलले प्रतिवेदन तयार भएको जानकारी दिए । ‘सम्भव भएसम्म आजै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी छ,’ उनले भने । प्रतिवेदनमा के कस्ता सुझाव छन् भन्नेबारे उनले खुलाएनन् । ‘त्यो प्रतिवेदन पार्टीलाई बुझाइने हो,’ उनले भने, ‘अहिले भनिहाल्न उचित होइन ।’ नेकपा केन्द्रीय समिति बैठकले एमसीसीबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।

Trending News