ढुंगाअड्डमा भयानक दुर्घटनाः ब्रेक फेल भएको ट्रकद्धारा दर्जनौँ सवारी साधनमाथि ठक्कर ! (भिडियो)

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन १२ । राजधानीको डुंगेअड्डामा भयानक दुर्घटना भएको छ । थानकोट तर्फबाट आउँदै गरेको ना ६ ख २१७८ नम्बरको हेभी ट्रकको ब्रेकफेल भएपछि उक्त दुर्घटना भएको हो ।

ब्रेक फेल भएको ट्रकले विपरित दिशाबाट जाँदै गरेको दर्जनौँ सवारी साधनलाई ठक्कर दिएको छ । ठक्करबाट दर्जनौँ घाइते भएको अनुमान गरिएको छ । ट्राफिक कार्यलय कलंकीका ट्राफिक प्रहरी लक्ष्मण कुँवरले सोमबार साँझ भएको दुर्घटनाबाट घाइते भएकाहरुको विवरण संकलन कार्य भइरहेको विस्तृत विवरण आउन केही समय लाग्ने बताए ।

उनका अनुसार ठक्कर दिने ट्रक र दुर्घटनाबाट क्षति पुगेका मोटरसाइकल, ट्याक्सी, कार, ट्रकलाई ल्याउने काम भइरहेको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । गम्भिर घाइते भएका ४ जनालाई ट्रमा सेन्टर लगिएको छ ।

ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिई महानगरिय प्रहरी बिट कालिमाटी लगिएको कुँवरले बताए ।

विस्तृत विवरण आउन बाँकी ।