प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्ती छानविन गरौँः बाबुराम भट्टराई

दियो पोस्ट  

काठमाडौँ, फागुन १४ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफु लगायत अहिलेसम्मका प्रधानमन्त्री देखि मन्त्री बनेका सबैको सम्पत्ती छानविन गर्न माग गरेका छन् । बुधबार संघिय संसदमा बोल्दै डा. भट्टराईले सम्पुर्ण राजनीतिक दलहरुको नेताहरुको विगत र बर्तमानलाई हेदा आकाश पातालको फरक देखिएकोले सम्पुर्णकोे सम्पत्ती छानविन हुनुपर्ने बताएका हुन् ।

‘हिजो हामी साथीहरुको जडौरी कपडा लगाएर हिँड्थ्यौँ, चप्पल पनि साथीले दिएकै लगाएर हिँड्थ्यौँ, तर आज कसरी सुटेडबुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिँडेका छौँ, कसरी हाम्रा महल छन् ?’ उनले भने, ‘ यी सबैको छानविन गर्न आवश्यक छ,’

राजनीतिक गरेर मन्त्री पदसम्म आइपुग्दा सम्म कमाएको दृश्य कमाईले काठमाडौँमा घर बनाउन र किन्न नसकिने भन्दै डा. भट्टराईले अदृश्य रुपमा कसले कसरी आम्दानी गरिरहेका छन भन्ने विषयमा छानविन हुन आवश्यक रहेको बताएका हुन् । ‘म त झन् प्रधानमन्त्री संगै अर्थमन्त्री पनि भइसकेको व्यक्ति हुँ, मेरो पनि सम्पत्ती छानविन गरियोस् र प्रधानमन्त्री र मन्त्री बनिसकेका अन्य व्यक्तिहरुको पनि सम्पत्ती छानविन गरियोस’ उनले भने ।