काठमाडौँ, फागुन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोडको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि संचारमन्त्रीबाट राजिनामा दिएका गोकुल बास्कोटाको बचाउ गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले गोकुल बास्कोटाले भ्रष्टाचार नगरेको भन्दै उनको बचाउ गरेका हुन् ।
प्रिन्टिङ प्रेस खरिद प्रकरणमा नाम जोडिएको कारणले मात्र बास्कोटोले नैतिकताको हिसाबले राजिनामा गरेको प्रधानमन्त्रीले बताए । ‘टेप प्रकरणमा कुनै मान्छेले अनाधिकृत तवरले अडियो सार्वजनिक गरेको छ तर केही प्रमाण छैन । गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजिनामा दिएँ भन्नुभएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँले उक्त अडियो मेरो होइन भन्नु भएको छ । सत्यता पुष्टि भएको छैन । स्विस एम्वेसीले पनि त्यो एजेन्ट होइन भनेको छ ।’
अडियो प्रकरणबारे सरकारको चरम आलोचना भइरहँदा प्रधानमन्त्री ओलीले भने बास्कोटाको बचाउ गर्दै आएका छन् । सामाजिक संजाल र संचारमाध्यमहरुमा सेक्यूरिटी प्रिन्टिङ प्रेसमा मात्र नभई अन्य खर्बौँका परियोेजनामा समेत घोटाला भएको समाचार प्रकाशित भएको थियो ।
प्रधानमन्त्रीको निकै प्रिय व्यक्ति रहेका बाँस्कोटा हाल बालकोटस्थित प्रधानमन्त्री ओलीकै घरमा बस्दै आएका छन् ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।