काठमाडौँ, फागुन १६ । इरानका उपराष्ट्रपति मसुमेह इब्तेकरलाई कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । इरानी संचारमाध्यमहरुका अनुसार बिहीबार उनलाई कोरोनाभाइसको संक्रमण देखिएको हो । इरानमा कोरोनाभाइरसबाट संक्रमित भएका मध्य उनि सातौँ उच्च अधिकारी हुन् ।
कोभिड(१९ को संक्रमण देखिएपछि उनी अहिले घरमै क्वारेन्टाइन बसिरहेको इरानी मिडियाले जनाएका छन्। उनी इरानका चार जना उपराष्ट्रपतिमध्ये महिला मामिलासम्बन्धी उपराष्ट्रपति हुन्। क्याबिनेट बैठकमा इब्तेकर राष्ट्रपति हसन रूहानीको नजिकै बस्ने गर्थिन्। बिहीबार पनि उनी क्याबिनेट बैठकमा सहभागी भएकी थिइन्।
इरानमा यसअघि उपस्वास्थ्य मन्त्रीलाई कोरोनाभाइरस देखिएको थियो। इरानका सांसद तथा संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख मोज्ताबा जोल्नुर, सांसद मोहम्मद सादेगी, तेहरानका एक मेयर मोर्ताजा रहमानजादा, कोम सहरका स्वास्थ्य विश्वविद्यालयका निर्देशक डाक्टर मोहम्मद रेजा गादिर र भ्याटिकनका लागि पूर्वइरानी राजदूत हादी खोस्रोसाहीलाई कोभिड–१९ भएको छ। तीमध्ये ८१ वर्षीय हादीको सोही बिरामका कारण ज्यान गइसकेको छ।
इरानमा कोभिड–१९ बाट अहिलेसम्म २६ जनाको ज्यान गएको छ भने २ सय ४५ जना संक्रमित भएका छन्। बन्द समाज र कमजोर स्वास्थ्य प्रणाली भएकाले संक्रमितको संख्या योभन्दा धेरै हुने अनुमान गरिएको छ।