यी हुन् बच्चा बोकेकी महिलामाथि लाठी बर्साउने प्रहरी इन्सपेक्टर !

दियो पोस्ट  

काठमाडौँ, फागुन १६ । शुक्रबार ललितपुरको भैसेपाटीस्थित नेपाली सेनाका एक पुर्व जर्नेलको घर परिसरमा भएको घटनाको भिडियो सामाजिक संजाल र संचारमाध्यममा निकै भाइरल बनिरहेको छ । भिडियोमा एक जना प्रहरी अधिकारीले बच्चा बोकेकी एक महिलामाथि लाठी बर्साउदै गरेको देख्न सकिन्छ ।

भिडियोमा बच्चा बोकेकी महिलामाथि लाठी बर्साउने व्यक्ति प्रहरी इन्सपेक्टर देवि प्रसाद पौडेल हुन् । लाठी खाने महिला स्थानीय हेमा श्रेष्ठ हुन् । शुक्रबार बिहान जर्नेलको घर घेर्न पुगेका महिलाहरुमाथि प्रहरीले बल प्रयोग गर्ने क्रममा लाठी चार्ज गरिएको पुष्टि गरेको छ ।

आफ्नो घर घेर्न आएपछि सेनाका पुर्व जर्नेल हेम खत्रीले सुरक्षाको माग गर्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर भीड नियन्त्रण गर्न खोज्दा उपस्थित महिलाहरु नहटेपछि प्रहरीले लाठी चार्ज गरेका थिए ।

बच्चा बोकेकी महिलामाथि सामान्य संवेदनशीलता पनि नअपनाई प्रहरीले क्रुर ढंगले लाठी चार्ज गरेको भन्दै सामाजिक संजाल र संचारमाध्यमहरुमा प्रहरी इन्सपेक्टर पौडेललाई कारवाहीको माग गरिएको छ । महिलालाई पक्राउ गर्न महिला प्रहरी नै चाहिने कानुनी प्रावधान रहँदा र सो स्थानमा महिला प्रहरीहरु हुँदाहुँदै इन्सपेक्टर नै अगाडी बढेको भन्दै चर्को आलोचना शुरु भएकोे छ ।

घटनापछि प्रहरी प्रधान कार्यलयले महिलामाथि लाठी प्रहार गर्ने प्रहरी इन्सपेक्टरमाथि छानविन गर्न निर्देशन दिएको छ । सोही घटनाको छानविनका लागि प्रहरी उपरिक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा ३ सदस्यीस छानविन समिती समेत बनाएको छ । महिलालाई नियन्त्रणमा लिनका लागि पुरुष प्रहरीले बल प्रयोग गलत भएको कारण उनिबिरुद्ध छानविन हुने भएको हो ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।