गोकुल बाँस्कोटाको दाबी,‘अडियो टेप नक्कली हो, आधुनिक प्रविधिको दुरुपयोग गरियो’ (पूर्णपाठ)

दियो पोस्ट  

काठमाडौं, १६ फागुन । सेक्युरिटी प्रेस खरिदका विषयमा कमिशन डिल गरेको आरोपमा सुचना तथा सञ्चार मन्त्रीबाट राजिनामा दिएका गोकुल बाँस्कोटाले गाली बेइज्जतीको मुद्दा हालेका छन् ।
सेक्युरिटी प्रेसका स्विस एजेन्ट भनिएका विजय प्रकाश शर्मा बाँस्कोटाले ७० करोड रुपैयाँ कमिशन डिल गरेका थिए । कमिशन डिल गरेको अडियो सञ्चार माध्यममा आएको थियो ।

‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ,’ बास्कोटाले मुद्दा हालेको जानकारी दिँदै लेखेका छन् ।


जिल्ला अदालतमा बाँस्कोटाले जाहेर गरेको मुद्दामा आफ्नो अडियो समेत कृतिम तरिकाले बनाएको आरोप लगाएका छन् ।


‘सुरक्षण मुद्रण सम्बन्धी जानकारी दिने भन्दै प्रतिवादी विजय प्रकाश मिश्राले मलाई भेट गरेका हुन् । उनले मसँग भेट गर्न आउँदा आफू के बिए नोटासेज एसए को नेपाल प्रतिनिधि हुँ भनी परिचय दिएा थिए । तत्कालिन सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल नेपाल सरकार लगानी बोर्डको अध्यक्ष हुनु भएको समयमा मिति २०७३/०९/२४ मा बसेको लगानी बोर्डको अध्यक्ष हुनु भएको मिति २०७३/१०/०२ मा लगाती बोर्डबाट सुरक्षण मुद्रणको सम्भाव्यता अध्ययन गर्न पत्र प्राप्त भएको व्यक्ति हुँ भनी उनले जानकारी गराएका थिए,’ बाँस्कोटाको तर्फबाट जाहेर भएको फिराद पत्रमा भनिएको छ ।


बास्कोटाले उक्त अडियो टेपमा भएको कुनै पनि कुरा सत्यता नभएको समेत फिराद पत्रमा उल्लेख गरेका छन् ।

त्यस्तै फिरात पत्रको १३ नम्बर बुँदामा ‘प्रतिवादीले झूठा प्रमाण सृजना गरी म सँग भएको भनिएको कथित अडियो टेप मिति २०७६/११/०७ मा विद्युतिय तथा सार्वजनिक सञ्चार माध्यममा प्रशारण गरी गराई मलाई बेइज्जती गर्ने कार्य गरेका हुन् । मैले फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुतिक प्रविधिको दुरुपयोग गरि मलाई बदनाम गराउने उद्देश्यले मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातिलाई होत्याउने गरी चरित्र हत्या गर्ने’ भन्ने उल्लेख गरिएको छ ।