काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिन आजका लागि आह्वान गरेको प्रदेश सभा बैठक अन्योलमा परेको छ ।
प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस उपस्थित नहुने भएपछि प्रदेश सभा बैठक र मुख्यमन्त्री जम्कट्टेलले आज लिने भनिएको विश्वासको मत अन्योलमा परेको हो । प्रदेश सभा बैठक आज ३ बजेका लागि बोलाइएको थियो ।
बागमती प्रदेश कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले आफूहरू आजको बैठकमा कुनै पनि हालतमा उपस्थित हुन नसक्ने बताए । उनले कांग्रेसका सम्पूर्ण प्रदेश सांसद काठमाडौंमा रहेको जानकारी दिए । कांग्रेसको प्रदेश संसदीय दलको बैठक आज काठमाडौंमा राखिएको थियो । मुख्यमन्त्री जम्कट्टेलले गठबन्धनको प्रमुख दल कांग्रेससँग छलफल नै नगरी विश्वासको मत लिन खोजेको भन्दै कांग्रेसका नेताहरू असन्तुष्ट छन् ।