क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज देखि हुने अन्तिम सुनुवाइ रोकिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी परेपछि सन्दीप पक्षले सुनवाइ रोक्न भन्दै निवेदन दिएका थिए। सन्दीप पक्षको निवेदनपछि सुनुवाइ रोकिएको हो। अब अर्को पेसी आगामी साता मात्रै हुने सन्दीपका वकिल सरोज घिमिरेले बताए।
घिमिरेले नै यसअघि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए। यसअघि थुनामा पठाएका न्यायाधीशकै इजलासमा पेसी परेपछि सन्दीप पक्षले निवेदन दिएर पेसी सारेका हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। १८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ।