गत हप्ता इटालीको राजधानी रोममा बसेको ‘वल्र्ड बनाना फोरम’ को बैठकले सञ्चारमाध्यममा खासै चर्चा पाएन । तर बैठकमा भएको छलफलको विषयले भने सबैको ध्यान तानेको छ । मानव सभ्यताको सुरुवात देखि नै केरा परिचित फलफुल हो । संसारभर सर्बत्र रुपमा पाइने पहेँलो फलफुल केरा आधुनिक खाद्य प्रणालीको प्रख्यात खान्की हो ।
यस वर्षको केरा फोरमको बैठकले सम्बन्धित क्षेत्रका मान्छेको ध्यान खिच्न सफल भएको छ । ध्यान खिच्ने मुख्य विषय थियो, संयुक्त राष्ट्रसंघको खाद्य र कृषि संगठनका महानिर्देशक डा. क्यु डोङ्युले प्रश्नको प्रश्न । उनको प्रश्न थियो, ‘हामीसँग १ हजारभन्दा बढि केराका प्रकार हुदाहुदै किन संसार एउटा मात्र केराको प्रकारमा निर्भर छ ? यसलाई परिवर्तन गर्न जरुरी छ ।’ उनले भनेको त्यो हामी सबै निर्भर भएको एउटा मात्र केरा हो, क्याभेन्डिस । जसलाई हामीले बोलीचालीको भाषामा जहाजी केरा पनि भन्छौ । जुन संसारभर पाइन्छ ।
संसारका अधिकांश मानिसले आफुले खाने हरेक केराको स्वाद, रंग र आकार लगभग उस्ताउस्तै किन हुन्छ भनेर कहिल्यै प्रश्न गर्दैनन् । किनकी हामीले खाने केराको स्वाद, रंग र आकारमा खासै भिन्नता छैन ।
थरी थरीका केरा
नेपालमा व्यवसायिक उत्पादनको हिसाबले आँप र सुन्तलापछि सबैभन्दा बढि उत्पादन हुने फलफुलमा केरा पर्दछ । नेपालमा विशेषगरी तिन किसिमको केरा उत्पादन हुने गरेको सरकारी तथ्यांकले देखाउँछ । जसमा होचा जात, अग्लो जात र तरकारी खाने जातका केरा पर्दछन् । नेपालमा सबैभन्दा बढि खाइने केरा भनेको जहाजी केरा हो जुन होचा जातअन्र्तगत पर्दछ ।
यो त भयो नेपालको कुरा । नेपालबाहिर पनि विभिन्न जातका केराहरु पाइने गर्छन् । स्थानअनुसार ति केराको नाम पनि फरक हुने गर्छ । विश्वव्यापीकरणको कारण नेपालमा फल्ने केहि खानेकुरा नेपालबाहिर पनि पाइन्छ भने नेपालबाहिर फल्ने खानेकुरा नेपालमा पनि पाइने गर्छन् । हामीमध्ये अधिकांशले इन्डोनेसियामा पाइने नरम, भ्यानिला आइसक्रिम जस्तो स्वाद दिने ‘ब्लु जाभा’ केरा खाएका छैनौ होला । या ‘गो सान ह्योङ’ नामक चिनिया केरा पनि चाखेका छैनौ होला ।
वास्तवमा हामीले थोरै किसिमको केरा मात्र देखेको या चाखेको भएपनि संसारभर १ हजारभन्दा बढि केराका प्रजातिहरु फेला परिसकेको छन् । जसमा गुलियो र अमिलो स्वाद भएका, फरक रंग, फरक आकार र फरक बासना भएका केराहरु पर्दछन् । यिमध्ये केहि प्रजातिका केराहरु फलफुलको रुपमा खान सकिन्छ भने केहि तरकारीको रुपमा खान सकिन्छ ।जहाजी केरा, मुसी केरा, रातो केरा, ग्रोस मिसेल, लेडि फिंगर, ब्लु जाभा, मान्जानो, गोल्ड फिंगर, मिसोर, फेहि, राइनो हर्न लगायत केराहरु पर्दछन् ।
संसार किन जहाजी केरामा निर्भर छ ?
संसार विभिन्न स्वादिष्ट खानेकुराले भरिपुर्ण छ । तर नियमित रुपमा हामीलाई एकैनाशको स्वाद मनपर्छ । केराको सन्र्दभमा पनि लगभग यस्तै देखिन्छ । संसारभर १ हजार बढि केराका प्रकार हुदाहुदै हामीले किन जहाजी केरा मात्र खान्छौ त ?
विशेषगरी चीनबाट उत्पादन सुरु भएको मानिने जहाजी केराले हाल संसार जितिसकेको छ । संसारको जुनसुकै कुनामा यो केरा सहजै पाइन्छ । तर किन यहि किसिमको केरामा मात्र संसार निर्भर छ त ? जुन कुराको उत्पादन सहज र माग बढि हुन्छ संसार त्यसैले खान्छ । केराको सन्दर्भमा पनि यहि नै हो । जहाजी जातको केरा संसारभर सहजै उत्पादन हुन्छ, सबैले रुचाउने स्वादमा फल्छ र यहि केराको माग र आपुर्ती बढि हुन्छ । जसको कारण जहाजी केरामाथि संसार निर्भर भएको मान्न सकिन्छ ।
संसारभर जहाजी केराको ८० प्रतिशत कारोबार हुने गरेको दी गार्जियनले समेत उल्लेख गरेको छ । उपभोक्ता र व्यापरीविच माग र कारोबारको सन्तुलन नमिल्दा संसारभर मानिसहरु एकै किसिमको केरामा निर्भर भएकोसमेत गार्जियनमा उल्लेख छ ।
एजेन्सीको सहयोगमा