जलवायु प्रदूषणको नयाँ खतरा: के बढ्दो कार्बनडाइअक्साइडले हाम्रो रगतको रसायन परिवर्तन गर्दैछ?

दियोपोस्ट संवाददाता  

मानिसहरूले जीवाश्म इन्धन  जलाउँदा र वायुमण्डलमा कार्बनडाइअक्साइड उत्सर्जन गर्दा पृथ्वी तातिरहेको छ। तर यस जलवायु प्रदूषणको अर्को एउटा डरलाग्दो प्रभाव पनि हुन सक्छ: यसले हाम्रो रगतको रसायन परिवर्तन गरिरहेको हुन सक्छ।

केही वर्षअघि जब श्वासप्रश्वास विशेषज्ञ एलेक्स लार्कोमलाई एक सहकर्मीले बढ्दो कार्बनडाइअक्साइडको मानव शरीरमा पर्ने असरबारे अनुसन्धान गर्न सुझाव दिए, उनी सशंकित थिए। “मलाई यो कुरा अलि अनौठो लाग्यो,” ‘द किड्स रिसर्च इन्स्टिच्युट अष्ट्रेलिया’का वातावरणीय स्वास्थ्य प्रमुख लार्कोमले भने। तर उनले यसबारे अध्ययन सुरु गरे र जे भेट्टाए, त्यो निकै चिन्ताजनक छ।

लार्कोम र उनका सहकर्मी फिलिप बियरविथले अमेरिकाको दुई दशकभन्दा बढीको स्वास्थ्य तथ्याङ्क विश्लेषण गरे। उनीहरूले मानिसको रगतको रसायनमा यस्तो परिवर्तन भेट्टाए जसले वायुमण्डलीय कार्बनडाइअक्साइडको वृद्धिलाई पछ्याइरहेको देखिन्छ।

वैज्ञानिकहरूले सन् १९९९ देखि २०२० सम्म झन्डै ७,००० अमेरिकीहरूको स्वास्थ्य विवरण संकलन गरिएको ‘अमेरिकी राष्ट्रिय स्वास्थ्य र पोषण परीक्षा सर्वेक्षण’ (NHANES) को प्रयोग गरे। लार्कोमका अनुसार रगतको रसायनको हिसाबले यो अहिलेसम्मकै सबैभन्दा विस्तृत तथ्याङ्क हो।

रगतमा देखिएका परिवर्तनहरू

मानिसको विकास यस्तो वायुमण्डलमा भयो जहाँ कार्बनडाइअक्साइडको मात्रा स्थिर (लगभग ३०० ppm) थियो। तर जीवाश्म इन्धनको प्रयोगले गर्दा आज यो ४२० ppm भन्दा माथि पुगेको छ, जुन मानव इतिहासमै सबैभन्दा बढी हो।

जब वायुमण्डलमा कार्बनडाइअक्साइड बढ्छ, मानिसले बढी कार्बनडाइअक्साइड फेर्न बाध्य हुन्छ, जसले रगतमा अम्लीयपन (acidity) बढाउँछ। यसलाई सन्तुलनमा राख्न शरीरले ‘बाइकार्बोनेट’ (bicarbonate) उत्पादन र भण्डारण गर्छ। सन् १९९९ यता रगतमा औसत बाइकार्बोनेटको स्तर ७% ले बढेको पाइएको छ, जुन वायुमण्डलीय कार्बनडाइअक्साइडको वृद्धिसँग मिल्दोजुल्दो छ।

यदि यो क्रम जारी रहेमा, आगामी ५० वर्षभित्र मानव रगतमा बाइकार्बोनेट “अस्वास्थ्यकर स्तर” मा पुग्न सक्ने अध्ययनले निष्कर्ष निकालेको छ।

वैज्ञानिकहरूले क्याल्सियम र फस्फोरसको स्तर पनि हेरेका थिए। रगतको अम्लीयपन व्यवस्थापन गर्न शरीरले हड्डीबाट केही कार्बनडाइअक्साइड सोसेर क्याल्सियम कार्बोनेट र क्याल्सियम फस्फेटको रूपमा जम्मा गर्छ। यसले गर्दा रगतमा क्याल्सियम र फस्फोरसको मात्रा घट्न सक्छ। अध्ययनले रगतमा क्याल्सियम २% र फस्फोरस ७% ले घटेको फेला पारेको छ। यदि यो गिरावट जारी रहेमा, शताब्दीको अन्त्यसम्ममा यी तत्वहरू स्वस्थ स्तरभन्दा तल झर्न सक्छन्।

थप अनुसन्धानको आवश्यकता

यद्यपि यो अध्ययनले कार्बनडाइअक्साइड र रगतको परिवर्तनबीच सम्बन्ध देखाएको छ, लेखकहरूले यसलाई पुष्टि गर्न थप काम आवश्यक रहेको बताएका छन्। यस अध्ययनमा मानिसको खानपान, औषधि, मिर्गौलाको अवस्था, मोटोपन वा मानिसहरू कति समय घरभित्र (जहाँ CO2 बढी हुन्छ) बिताउँछन् भन्ने कुराहरू समावेश गरिएको छैन।

“हामी निश्चित रूपमा भन्न सक्दैनौँ कि यी परिवर्तनहरू १००% जलवायु परिवर्तनकै कारण हुन्,” लार्कोमले भने। “तर यदि यी निष्कर्षहरू सही सावित भए भने, यसले कार्बनडाइअक्साइड प्रदूषणलाई वातावरणीय समस्या मात्र नभएर दीर्घकालीन जनस्वास्थ्यको समस्याको रूपमा हेर्नुपर्ने प्रमाण दिन्छ।”

स्वास्थ्यमा पर्ने प्रभाव

रगतको रसायनमा आउने यो परिवर्तनले मानिसलाई ठ्याक्कै कस्तो असर गर्छ भन्ने अझै स्पष्ट छैन। केही अध्ययनहरूले हाम्रो शरीरले बाइकार्बोनेट बढाएर यसलाई धान्न सक्ने सुझाव दिन्छन्। तर लार्कोमका अनुसार यसले जीवनभरको निरन्तर असरलाई ध्यान दिएको छैन। जनावरहरूमा गरिएका अध्ययनले स्नायु क्षति र हृदयको गतिमा परिवर्तन हुने संकेत गरेका छन्।

मानिसहरूमा पनि, घरभित्र पाइने उच्च कार्बनडाइअक्साइडको छोटो समयको सम्पर्कले सोच्ने र निर्णय गर्ने क्षमतामा ह्रास ल्याउने देखिएको छ। लार्कोम विशेष गरी बालबालिकाहरूका लागि चिन्तित छन्, किनकि उनीहरूले लामो समयसम्म यस्तो वातावरणको सामना गर्नुपर्नेछ।

वासिङ्टन विश्वविद्यालयकी प्राध्यापक क्रिस्टी एबी भन्छिन् कि यो मुद्दा नयाँ होइन, तर यसबारे पर्याप्त अनुसन्धान भएको छैन। उनका अनुसार वर्तमानमा प्रक्षेपण गरिएको स्तरमा पनि सामान्य मानिसलाई तत्काल ठूलो स्वास्थ्य असर नदेखिन सक्छ, तर संवेदनशील समूहका लागि भने जोखिम हुन सक्छ।

लार्कोम भन्छन्, “यो अध्ययनको सन्देश हामी सबै मर्न लागेका छौँ र यो महाविपत्ति हो भन्ने होइन, बरु शरीरमा केही न केही परिवर्तन भइरहेको छ र हामीले यसबारे अझ बढी खोज्नुपर्छ भन्ने हो।”

(सीएनएनबाट)

सिफारिस