कीर्तिपुरमा मृत भेटिएका कागमा ‘बर्डफ्लु’ पुष्टि, सतर्कता अपनाउन विभागको निर्देशन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । काठमाडौँको त्रिभुवन विश्वविद्यालय परिसरअन्तर्गत किर्तिपुरको जंगल क्षेत्रमा एक महिना यता मृत भेटिएका कागमा वर्डफ्लु पुष्टि भएको छ । पशु सेवा विभागले संकलित नमुनाको प्रयोगशाला परीक्षण गर्दा कागहरूमा वर्डफ्लु (एच५एन१) संक्रमण पुष्टि भएको हो।

विभागका अनुसार केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा मृत कागहरुको परीक्षण गरिएको थियो। परीक्षणको नतिजा सार्वजनिक गर्दै विभागले सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ।

यही चैत ६ गतेको निर्णयअनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रणका उपायहरू तीव्र बनाउन तथा संक्रमण फैलिन नदिन बायो-सिक्युरिटी मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको छ । साथै, कीर्तिपुर नगरपालिकालाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, जोखिमयुक्त क्षेत्रहरूमा निगरानी बढाउन र समन्वयात्मक भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

विभागले सर्वसाधारणलाई असामान्य रूपमा मरेका वा बिरामी चराचुरुङ्गी देखिएमा नजिकको पशु सेवा कार्यालयमा तुरुन्त जानकारी गराउन अपिल गरेको छ। साथै, संक्रमित क्षेत्र आसपास अनावश्यक आवतजावत नगर्न र व्यक्तिगत सुरक्षाका उपाय अपनाउन पनि सुझाव दिएको छ।

यस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लाई समेत जानकारी गराइएको बताइएको छ।

पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठका अनुसार, विशेषगरी त्रिभुवन विश्वविद्यालयको रसायन शास्त्र केन्द्रीय विभाग आसपासको क्षेत्रमा मृत कागहरू बढी भेटिएका छन् ।  उनले संक्रमण  पुष्टि भएलगत्तै कीर्तिपुर नगरपालिकालाई आधिकारिक जानकारी  गराइसकेको र नगरपालिकाको पनि बैठक बसेर डिस्पोजको लागि प्रक्रिया अगाडी बढाएको जानकारी आफूले प्राप्त गरेको उनले दियोपोस्टलाई बताए।

“केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको टोलीले कीर्तिपुर क्षेत्रबाट संकलन गरेको नमुना परीक्षण गर्दा कागहरूमा H5N1 अर्थात् बर्डफ्लु पुष्टि भएको  हो।  जंगली चराहरूलाई नियन्त्रण गर्न कठिन हुने भएकाले अहिले हाम्रो प्राथमिकता मृत कागहरूको उचित व्यवस्थापन र संक्रमण फैलिएको क्षेत्रलाई नि:संक्रमण (Disinfection) गर्नेमा छ । नगरपालिकालाई आवश्यक पर्ने चुन, पीपीई (PPE) सेट, मास्क, र गगल्स लगायतका सामग्रीहरू विभागबाट उपलब्ध गराउँदैछौं”, उनले भने।

मृत कागहरूलाई रक्षित रूपमा संकलन गरी डिस्पोज गर्ने र सम्बन्धित क्षेत्रमा चुन छर्किने कार्य आजै अगाडि बढ्ने समेत उनले बताए । “संक्रमित कागहरू उडेर अन्य ठाउँमा पुग्ने हुनाले जोखिम कायम रहन्छ, तर मानिसहरूको आउजाउलाई नियन्त्रण गर्न सकेमा संक्रमण फैलिनबाट धेरै हदसम्म जोगाउन सकिन्छ । हावाबाट नै सर्ने भन्ने होइन ।  हामीले त्रिवि रसायन शास्त्र विभागसँग समन्वय र निरन्तर निगरानीका लागि नगरपालिकालाई अनुरोध गरेका छौं”, उनले भने ।

किर्तिपुर नगरपालिकाका प्रवक्ता दिवाकर अधिकारीका अनुसार मृत भेटिएका कागहरुको ब्यवस्थापनका लागि टोली खटाइएको  छ । जिवित कागहरूमा संक्रमण फैलिन नदिन सुरक्षित तरिकाले गाड्ने काम भइरहेको उनले बताए ।

अहिले पनि त्रिभुवन विश्व विद्यालय वरपरको जंगल क्षेत्रमा मृत कागहरु बाक्लै देखिने गरेको र ति कागको ब्यवस्थापनमा नगरपालिकाले पहल गरिरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

यसैगरि, पशु सेवा शाखासँग समन्व्य गरेर मृत कागहरुको व्यवस्थापन गर्ने तयारीमा वातावरण शाखा लागिरहेको नगरपालिकाको वातावरण शाखाका अधिकारिले पनि दियोपोस्टलाई जानकारी दिएका छन्।

पछिल्लो एक महिनायता विश्वविद्यालय परिसरअन्तर्गत किर्तिपुरको जंगल क्षेत्रमा ठूलो संख्यामा काग मृत अवस्थामा फेला परेपछि ‘दियो पोष्ट’ले यस विषयमा समाचार प्रकाशित गरेको थियो ।

मरेका कागहरूको तथ्यांक संकलन तथा मृत्युको कारण पत्ता लगाउन विभागले विज्ञ टोली खटाएको थियो।