काठमाडौं, १९ फागुन । भारतको विहार प्रान्तका मुख्यमन्त्री नितिश कुमार र एमओवादी अध्यक्ष प्रचण्ड बिच आज अपरान्ह ४ बजे प्रचण्ड निवास लाजिम्पाटमा भेट भएको छ । भेटका क्रममा उहाँले नेपालमा संविधान कार्यान्वयन र मधेसमा भई रहेको आन्दोलनका बारेमा प्रचण्डसँग जिज्ञासा राखेका थिए । प्रचण्डले संविधान कार्यान्वयनको क्रम अगाडि बढेको र मधेसी मोर्चाका मुलभूत विषयहरु समाधान भएको बताएका थिए । मुख्यमन्त्री नितिशकुमारले अध्यक्ष प्रचण्डलाई भने, ‘तपाईको नेतृत्वमा शान्ति प्रक्रिया र संविधान निर्माण सम्भव भएको र तराई–मधेसको समस्या र संविधान कार्यान्वयन पनि तपाईकै नेतृत्वमा हुनेमा हामी विश्वस्त छौं ।’
प्रचण्डले नेपालमा शान्ति र संविधान निर्माण आफ्नै मौलिकतामा सम्पन्न भएको बताउँदै अबका समस्याहरु पनि नेपाली आफैंले हल गर्दै जाने बताए । दुई देशबीचको सम्बन्ध विहार र नेपाली सिमाका जिल्लाहरुमा हुने बाढीको समस्याका बारेमा पनि दुबै देश मिलेर हल खोज्नुपर्ने दुबै नेताको जोड थियो । उक्त भेटघाट करिब ४५ मिनेट भएको थियो ।