काठमाडौं, ७ चैत्र । नेकपा एमालेका सचिव योगेश भट्टराईले पुरानो पुस्ताले समृद्ध नेपाल बनाउन नसक्ने बताएका छन् । युवा सरोकार विभागले राजधानीमा गरेको कार्यक्रममा भट्राइले पुराना नेतालाई अब सम्मान दिन सकनिे बताए । उनले पुराना नेताबाट देश समृद्ध बनाउने कुरा सोच्नु ठूलो भूल हुने बताए ।
‘अब क्रान्तिको युग सकिएको छ । विकास र समृद्धि नै अबको काम हो । पुराना नेताले पनि जेल बसेका कथा भनेर देश समृद्ध हुदैन । समृद्ध बनाउन त युवाहरु अगाडि बढ्नु पर्छ,’ उनले भने, ‘०४६ सालपछिको परिवर्तनको ‘फ्रस्टेशन’ माओवादी जनयुद्धमा विस्फोट भयो । अबको फरेस्टेशन कता गएर विस्फोटन हुन्छ । सिके राउत कि कमल थापा ?’
उनले ७ अरब रेमिट्यान्सबाट १० प्रतिशत विकास बजेटमा छुट्याउन युवा संघले आवाज उठाउनु पर्ने बताए । सरकारले युवाहरुले विदेशमा कमाएको पैसालाई विकासमा लगानी गर्नु पर्ने उनको भनाई थियो ।
‘अहिले पनि एमालेका केहि ठूला नेताहरुमा क्रान्ति बाँकि छ भन्ने भ्रम छ । तर अब नेपालमा क्रान्ति हैन विकास समृद्धि चाहिएको छ,’ उनले भने, ‘अहिले पनि एमालेको जन संगठनको सदस्यहरु ३५ लाख छन् तर दोस्रो संंविधान सभाको निर्वाचनमा २४ लाखमात्र मत आए ।’