
मनाङ, फागुन २५ । हिम पहिरोमा परेर मनाङमा एकजना ट्रेकिङ्ग गाइडको ज्यान गएको छ भने एक जना वेपत्ता भएका छन् ।
मृत्यु हुनेमा धादिङका अजय ढकाल छन् । नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । ढकाल ट्रेकिङ गाइड हुन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए ।
ढकालको शव शुक्रबार बेलुका फेला परेको र पोष्टमार्टमका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
मनाङको निस्याङ गाउँपालिका- १ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए । ढकालको शव शुक्रबार साँझ फेला पारिए पनि नेदरल्याण्डका नागरिक भिनसेन्टलाई भने फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवण कुमार विकले जानकारी दिए ।
मनाङबाट फर्किने क्रममा यही फागुन २३ गते उनीहरु पहिरोमा परेका थिए । त्यसलगत्तै खोजी कार्य सुरु गरिएको थियो । ढकालको शव हिउँले पुरिएको अवस्थामा शुक्रबार साँझपख फेला परेको थियो ।