उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष ताम्राकारको ‘ठगीधन्दा’मा सांसद बस्नेत, एसपी श्रेष्ठकै सेटिङ !

दियो पोस्ट  

काठमाडौं, ८ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा भक्तपुर जिल्ला पूर्व अध्यक्ष कृष्ष्ण प्रसाद ताम्राकार सिआइबी कार्यालयमा गत वर्ष आफूले ठगी गरेको रकम एक हप्ता भित्र तिर्छु भन्दै बाहिरिएका थिए ।


उनीबाट ठगिएका थिए, –भक्तपुरमा रहेको होटल कोर्टियाडका सञ्चालक मनसुन विक्रम शाह र उनकी पत्नि शरु महत ।


भक्तपुरको कमल विनायकमा रहेको होटल यातुमा शेयर लगानी गराएर होटल सञ्चालन हुनुपूर्व नै गुण्डा नाइके गणेश लामाका मान्छे लगाएर करिब १ करोड १५ लाख ठगिएपछि पीडित सरु महत सिआइबीको सहारा लिन पुगेकी थिइन् ।


सिआइबीमा हाजिर गराउँदा ताम्राकारले डिएसपी कपित कटुवाल, सरू महत र उनकाे परिवारसँग छलफलमा एक हप्ता भित्र सम्पूर्ण रकम तिर्ने सहमती गरि ताम्राकार सिआइबीबाट बाहिरिएका थिए । तर सिआइबीलाई पनि छक्याउँदै ताम्राकारले केही दिनमै महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबी , महानगरीय प्रहरी अपराध महासाखा र पीडित सरू महत विरुद्ध निषेधाज्ञा मुद्दा हाले । तर, अदालतले उनको पक्षमा होइन न्यायको पक्षमा निर्णय गरिदियो ।


पाटन उच्च अदालतले उनको स्टेअर्डर मागको रिट नै खारेज गरिदिएपछि सिआइबीले फेरी उनलाई पक्राउ गर्यो । पक्राउपछि उनलाई मुद्दा चलाउनु भन्दै सिआइबीको टाेलीले आवश्यक कागजात सहित ताम्राकारलाई भक्तपुर प्रहरी परिसरमा बुझायो ।। प्रहरीसँगै पीडित मनसुन दम्पत्ति पनि भक्तपुर प्रहरी परिसरमा पुगे । त्यहाँ प्रमुख एसपी प्रहरी उरिक्षक थिए– किरण राणा ।


पीडित मनसुनको दाबी छ– राणालाई ताम्राकारले इन्सपेक्टर हुँदादेखि नै थिन्थे ।


‘सिआइबीका डिआइजीले पठाएको चिठीलाई एसपी रानाले ‘यस्तो भएन, उस्तो भएन’ भन्नु भयो । उल्टै हामीलाई थर्काउनु भयो । तत्कालिन एसपीले ताम्राकारलाई थुन्न आवश्यक नभएको भन्दै छाडिदिनु भयो,’ तत्कालिन एसपीको भनाई उदृत गर्दै मनसुन भन्छन्,‘त्यतिबेला एसपीले भन्नु भयो, ‘नत्र तिमीहरुलाई पनि म समस्या पार्छु । अहिले उहाँलाई पठाइदिन्छु । यो डकुमेन्ट स्टडी गर्छु । ४/५ दिनपछि तपाईंहरुलाई म सम्पर्क गर्छु । केपी दाई त्यस्तो हुँदै होइन । म इन्सपेक्टर हुँदैदेखि चिन्छु ।’


ताम्राकारलाई ठगीमा मुद्दा चलाउनुको सट्टा एसपी राणाले उनलाई छाडिदिए । प्रहरीबाट न्याय पाइएला भनेर प्रहरी परिसर पुगेका मनसुन दम्पत्ति निरास भएर प्रहरी कार्यालयबाट बाहिरिए ।
‘हामीले ७/८ दिन पछि भक्तपुर प्रहरी परिसरको कार्यालयमा फोन गर्यौँ ।त्यहाँ नयाँ एसपी हिमालय कुमार श्रेष्ठ आउनु भएको रहेछ । हामीले हाम्रो जाहेरी के भयो ? कारबाही के भयो, भनेर सोध्यौँ,’ पीडित शरु महत भन्छिन्,‘उहाँले त हामीसँग नभएको कागजात माग्नु भयो । हामीसँग भएको मुख्य शेयर लगत हामीले दिएका थियौँ ।ताम्राकारलाई दिएको पैसाको बैंक स्टेटमेन्ट, होटलमा सप्लाई भएको, कामदारलाई दिएको सम्पूर्ण रकमको सकल स्टेटमेन्ट र होटल यातुको नाममा आएको केही भ्याटबिलको फोटोकपी पनि दियौँ । प्रहरीले आफै अनुसन्धान गरेन । ’


यसरी भक्तपुर प्रहरीबाट न्याय नपाएपछि पीडित महत दम्पत्ति न्यायको गुहार माग्दै महानगरीय प्रहरी अपराध महासाखा टेकुमा पुगे । प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी धिरज प्रताप सिंहलाई भेटे र अदालतको स्टे अर्डर खारेजीको कागजात सहित अन्य कागजात देखाए ।


‘अदालतको आदेश छ परिसरको एसपीले किन कारबाही गरेन ?,’ अपराध महासाखा प्रमुख एसएसपी धिरिज प्रताप सिंहको भनाई उदृत गर्दै मनसुनले भने ।


अपराध महासाखाको विशेष टोलीले ताम्राकारलाई तुरुन्त पक्राउ गर्यो । तर, महासाखाले मुद्दा चलाउन भने भक्तपुर प्रहरीमै पठाउनु पर्ने थियो ।


‘आवश्यक प्रक्रिया गरी’ कारबाही गर्न भन्दै पत्रसहित महासाखाले फेरी भक्तपुर परिसरलाई नै पठायो । पक्राउ परेको भोलि पल्ट नै छलफलका लागि भन्दै भक्तपुर प्रहरी प्रमुख एसपी हिमालय श्रेष्ठले जाहेरी कर्ता दम्पत्तिलाई भक्तपुर परिसरमा बोलाए । उनले ताम्राकारलाई म्याद थप्नुपर्ने थियो तर पीडितहरुलाई छलफलमा बोलाए ।

ठगीधन्दामा लागेका ताम्राकार र महेश बस्नेत एक कार्यक्रममा ।


‘मुद्धा फाँटमा हामी छलफलमा थियौँ । भक्तपुर प्रहरी परिसरलाई बाहिरबाट डेढ दुई सय मान्छेले घेरेर राखेका थिए । त्यतिखेरै माननीय सांसद महेश बस्नेत ज्यु पनि आउनु भयो,’ पीडित महत भन्छिन्,‘कृष्ण प्रसाद ताम्राकारलाई छुटाउनका लागि उहाँ भक्तपुर प्रहरी परिसरमा जानु भएको थियो । प्रहरी कार्यालय भित्रै कृष्ण ताम्राकारले ‘मेरो बन्सरहरु आयो । तिमीहरु यहाँबाट कसरी बाहिर निष्कन्छ’ भन्दै धम्कायो । त्यतिबेला रातको ८ बजीसकेको थियो ।’

प्रहरी कार्यालयमै नक्कली जाहेरीकर्ता खडा भएपछि…


भक्तपुर प्रहरी परिसर भित्रै एउटा अनौठो घटना भएपछि मनसुन दम्पत्ति आश्चर्यमा परे । भक्तपुरकै मुक्ति सुन्दर जद्दारी होटल कोर्टियाड हेरिटेजमा सुपरभाइजरको रुपमा काम गर्थे । चार महिनाअघि उनले काम छाडेका थिए । जद्दारीले होटलमा आमदानी भएको नगद, होटल कोर्टियाडको खातामा जम्मा गर्ने काम पनि गर्थे ।

नक्कली जाहेरीकर्ता मुक्ति सुन्दर जद्दारी


‘उनै जद्दारीलाई प्रयोग गरेर सरु महत र मनसुन विक्रम शाहले शेयर दिन्छु भनेर ३६ लाख रुपैयाँ ठगी गरेको आरोप लगाउन ताम्राकार र महेश बस्नेतले जद्दारीलाई उल्टै प्रयोग गरे । । उनी स्टाफ थिए । उनले हाम्रै होटलको पैसा लगेर हाम्रो खातामा हालेका थिए । त्यही स्टाफलाई दुरुपयोग गरे,’ त्यही केसलाई भक्तपुर प्रहरीका एसपी हिमालय श्रेष्ठको भनाई उदृत गर्दै उनले भने,‘कृष्ण प्रसाद ताम्राकारले जति पैसा दिन्छ त्यति लिनु र मुद्दा फिर्ता लिनु नभए जद्दारीलाई खडा गरी बनाएको नक्कली जाहेरी देखाउँदै एसपी श्रेष्ठले तिमीहरुलाई पनि थुनिदिन्छौँ भनि धम्की दिए । हामी हास्यौँ र डरायौं । एसपी हिमालय कुमार श्रेष्ठ र मुद्दा फाँटको इन्सपेक्टर कृष्ण श्रेष्ठले हामीलाई दबाव दियो ।’


सोही दिन राती साँढे ९ बजे ताम्राकारलाई फेरी अपराध महासाखामै फिर्ता पठाइयो ।


‘त्यतिबेला महेश बस्नेतले एसएसपी धिरज प्रताप सिंहलाई जागिर खाइदिन्छु भन्दै धम्काएको रहेछ । ‘मलाई प्रेसर आयो । तिमीहरुलाई न्याय दिन सकिनँ,’ धिरज प्रताप सिंहको भनाई उदृत गर्दै मनसुनले भने ।


अपराध महासाखाबाटै महेश बस्नेतले पठाएको वडाध्यक्ष दिनेश थापाले ताम्राकारलाई फेरी छुटाएर लगे । गत असार ३ गते हाजिर गराउने सर्त थियो ।


‘तीन गते हामी अपराध अनुसन्धान महासाखा गयौँ । तर, कृष्ण प्रसाद ताम्राकार र कोही पनि आएन । प्रहरीलाई समेत झुक्याइयो । हामी फर्कियौँ । न्याय पाएनौँ । न्यायका लागि तड्पिन थाल्यौँ,’ मनसुनले आफ्ना दुख सुनाए ।


यसरी भक्तपुर प्रहरी प्रमुख हिमालय श्रेष्ठ र सांसद महेश बस्नेतकै कोपोभाजनमा परेका मनसुन दम्पति न्यायका लागि विभिन्न निकाय धाउन थाले ।


उनीहरुले सबै प्रमाणीत कागजात गृहमन्त्री राम बहादुर थापा बादललाई दिए । गृहमन्त्री थापाले ‘भोली आउनु’ भन्दै पठाए । भोलीपल्ट उनीहरु गृहमन्त्री राम बहादुर थापाको कार्यकक्ष सिंहदरबार पुगे ।

‘त्यतिबेला गृहमन्त्रीको कोठामा गृहमन्त्री, उहाँको सचिव, कानुनी सल्लाहाकार, प्रहरी प्रमुख सर्वेन्द्र खनाल, उपत्यका हेर्ने तत्कालिन डिआइजी मनोज नेउपाने, भक्तपुरको एसपी हिमालय कुमार श्रेृष्ठ र सिडिओ हुनुहुन्थ्यो । उहाँहरुलाई बोलाएको कुरा मलाई थाहा थिएन । मेरो श्रीमती र एक जना वकिल सहित पुगेको थिएँ,’ पीडित मसुन भन्छन्,‘मेरो कागजपत्र गृहमन्त्रीका कानुनी सल्लाहाकारले हेर्नुभयो । गृहमन्त्रीले मलाई के भयो भनेर सोध्नु भयो ।मैले शुरुदेखि अन्तिमसम्मको भोगाई सुनाएँ । त्यतिबेला मेरो पीडा सुनाउँदा आँशु आयो । गृहमन्त्री स्तब्ध हुनु भयो । त्यतिनै बेला प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले मेट्रोका डिआइजी मनोज नेउपानेलाई हकार्नु भयो,‘यो के भएको हो ? मन्त्रालयसम्म यो केस कसरी आइपुग्यो ?’


यता भक्तपुर प्रहरी प्रमुख एसपी हिमालय कुमार श्रेष्ठ भने गृहमन्त्रीको अगाडी आफ्नो गल्ती देखिने डरले तर्किएको उनको आरोप छ ।


‘एसपी हिमालय कुमार श्रेष्ठले हामीलाई बोलाउन पनि नआएको भन्दै तर्किनु भएको थियो । त्यतिबेला मैले उहाँलाई भनेँ,‘हामी कसरी आउने ? चलिरहेको होटलमा गाँजा राखेर हामीलाई थुन्दिन्छु भन्नु भएको होइन । नक्कली जाहेरीकर्ता खडा गरेर हामीलाई थुन्न खोज्नु भएको हाइन ?हामी होटल बन्द गरेर हिँड्नु परेको छ,’ मनसुन भन्छन्,‘गृहमन्त्रीको कानुनी सल्लाहाकारले एसपी हिमालय कुमार श्रेष्ठलाई हप्काउनु भयो । तुरुन्त दर्ता गरेर कारबाही अघि बढाउन निर्देशन दिनु भयो । करिब ४५ मिनेटको गृहमन्त्रीसँगको भेटघाटपछि गृहमन्त्रीले स्पष्ट निर्देशन दिनु भयो,‘उहाँलाई न्याय दिनु । कानुन अनुसार कारबाही अगाडी बढाउनु ।’


०००


त्यो बैठक सकियो । गृहमन्त्रीको स्पष्ट निर्देशन आएपछि न्याय पाउने आसमा मनसुन दम्पत्ति त्यहाँबाट बाहिरिए । ‘केही बेरमा एसपी हिमालय कुमार श्रेष्ठको फोन आयो । ‘मेरो कम्प्लेन गृहमन्त्रालयमा पुर्याउने ? तिमीहरु बोलाउँदा परिसर नआउने ? माथिको पावर लगाउने ?’ एसपी श्रेष्ठले धम्काएको उदृत गर्दै उनी भन्छन्,‘मैले भनेँ,‘सक्नु हुन्छ हामीलाई न्याय दिनुस् । हामीलाई थुन्न खोज्नु हुन्छ हामी कसरी आउने ?’

हिमालय श्रेष्ठ, प्रहरी उपरिक्षक भक्तपुर परिसर ।


मनसुन दम्पत्तिका अनुसार प्रहरीले गृहमन्त्री राम बहादुर थापा बादलको निर्देशन पश्चात पनि जाहेरी दर्ता गर्न सकेन । प्रहरी प्रमुखले उनीहरुको प्रमाण नष्ट गर्ने भूमिका समेत निभाएको उनीहरुको आरोप छ ।


‘हाम्रो जाहेरी दर्ता भएन । हुँदै नभएको चिठी मागेर हामीलाई हैरानी दिइयो । हामीसँग भएको शेयर लगतको सक्कल कपी भक्तपुरको प्रहरीले कब्जा गर्यो । यो कुरा हामीले धिरज प्रताप सिंहलाई पनि कम्प्लेन गर्यौँ,’ मनसुन भन्छन्,‘५ दिनपछि मात्रै फिर्ता पायौँ । त्यो प्रमाण नष्ट गर्ने योजना रहेछ । जहाँ हामी न्याय माग्न गयौँ । त्यहीँबाट हामीलाई अन्याय भएपछि फेरी हामी फ्रष्ट्रेसनमा पर्यौँ ।’


प्रहरीले भनेजस्तो भेन्डरको चिठी दिएपछि गृहमन्त्रालयको ताकेताको झन्डै २१ दिनपछि जाहेरी दर्ता भएको उनीहरुको भनाई छ ।


‘गत असार २४ गते मात्रै जाहेरी दर्ता भयो । दर्ता गराएपछि उसलाई पक्राउ गर्नुको सट्टा प्रहरी आफैले उसलाई लुकायो । सुन्नमा आएको थियो कृष्ण प्रसाद ताम्राकारको कालो रंगको गाडी गुण्डु स्थित महेश बस्नेतको घरमा हुन्थ्यो,’ मनसुनको आरोप छ ।

विप्लव समुहको ‘इन्ट्रि’…..


जाहेरी दर्ता भएको हप्तादिनसम्म न्याय पाइएलाकी भन्ने आसमा उनीहरु थिए । एक दिन उनकी श्रीमती शरुको मोबाइलमा एउटा नम्बरबाट फोन आयो,‘हामी विप्लव नेतृत्वको नेकपाबाट हो । कृष्ण प्रसाद ताम्राकारको केस हाम्रो पार्टीमा आएको छ । हामीलाई भेट्न आउनु पर्यो ।


अनि फोन राखियो । भूमिगत समुहको फोन आएपछि उनीहरुको मुटु काम्न थाल्यो । धम्की आएपछि उनीहरुले तत्कालै भक्तपुर प्रहरीलाई जानकारी गराए । तर, प्रहरीले कुनै प्रतिक्रिया दिएन ।


फेरी अर्को पटक फोन आयो–‘जनसेना पठाएर हात खुट्टा भाँच्छु ।’ त्यसो भनेको केही बेरमै ‘विप्लवको जनसेना’ सरुको माइतीघरमा घेरा हाल्न पुग्यो ।


‘मेरी श्रीमतीले आँतिदै फोन गरिन्,‘तिमीहरुलाई आजै उठाएर लान्छौँ र जनकारबाही गर्छौं भनेको छ ।’ उनले यसो भनेपछि म आँतिए र अपराध अनुसन्धान महासाखामा कम्प्लेन गरेँ । मलाई धम्काएको फोन रेकर्ड दिएँ ,’ मनसुन सम्झन्छन्,‘अपराध अनुसन्धान महासाखाले भक्तपुरको टोली तुरुन्त खटायो । मेरी श्रीमतीलाई थर्काउने दुई जनालाई प्रहरीले पक्राउ गर्यो । हामीले अपहरण, शरीर बन्धक र धाकधम्कीको मुद्दा दियौँ । एसपी हिमालय कुमार श्रेष्ठले यो केश हाल्न मिल्दैन भन्दै निवेदन फेरेर सार्वजनिक अपराधको मुद्दा ल्याउन बाध्य पारे । सार्वजनिक मुद्दामा केही दिनपछि उनीहरु छुटे ।’

त्यतिबेला एसपी श्रेष्ठले सार्वजनिक अपराधको मुद्दा बनाएर नल्याए हामीलाई अपहरणको प्रयास गर्ने विप्लवका कार्यकर्तालाई छाडिदिन्छु भन्दै धम्की दिएको पीडित शरु महतले बताईन्

अपहरण शरिर बन्धकमा दिएकाे जाहेरी


प्रहरी अनुसन्धानका क्रममा किरण शाही भन्ने व्यक्ति विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता रहेको खुल्यो ।


अर्का हरिकृष्ण तोयना बासु चाहीँ नक्कली नेकपाका कार्यकर्ता भएको भएको प्रमाणीत भयो । तर ताम्राकारलाई प्रहरीले पक्राउ गर्न सकेन ।


ताम्राकार भक्तपुरमै खुलमखुल्ला हिँडीरहेका छन् । तर, प्रहरीले हालसम्म उनलाई ‘देखे नदेखे’ जस्तो गरिरहेको छ ।


‘सिआइबीको आदेश एसपी किरण रानाले मान्नु भएन । गृहमन्त्रालयको आदेश एसपी हिमालय कुमार श्रेष्ठले किन मान्नु भएन ?,’ मनसुनको प्रश्न छ,‘अपराध अनुसन्धान महासाखाले पक्राउ गरेर भक्तपुर परिसरलाई पठाएको मान्छेलाई म्याद नथपीकन महेश बस्नेतको ठाडो आदेशमा किन छाडियो ?’


आफूले महेश बस्नेतलाई भोट हालेर जिताएपनि भोटरलाई नै अन्याय गरेको महतको गुनासो छ ।
‘माननीय महेश बस्नेतालाई यो पनि सोध्न चाहान्छु । मेरो श्रीमति त उहाँको भोटर पनि हो । मेरो श्रीमतीको ठूलो रोल पनि छ,’ मनसुनको प्रश्न छ,‘उहाँ जस्तो मान्छेले पीडित सरु महत होकी ताम्राकार भन्ने कुरा शेयर लगत, अदालतको कागज नहेरिकन ताम्राकारलाई सहयोग गर्नु र अपराधलाई बढावा दिनु कहाँसम्मको जायज कुरा हो ?’


हामी आत्महत्या गर्ने स्थितिमा पनि पुग्यौँ : पीडित दम्पत्ति


नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा भक्तपुर जिल्लाका पूर्व अध्यक्ष कृष्ण प्रसाद ताम्राकारबाट ठगिएका मनसुन दम्पत्ति कुनै समय आत्महत्या गर्ने सोचमा समेत पुगेको सुनाउँछन् ।


‘धेरै मानसिक तनाव भएपछि आत्महत्या गर्ने कोसिस पनि गर्यौँ । हाम्रो चलिरहेको होटलमा गुण्डाहरु पठाउन थालेपछि हामीलाई २/३ करोडको नोक्सान भइसकेको छ । कानुनी रुपमा लड्दा न्याय पाएनौँ,’ मनसुन भन्छन्,‘उल्टो हामीलाई मानसिक तनाव दिने काम भइरहेको छ । जाहेरी दर्ता छ तर काम भएको छैन । अहिले पनि ताम्राकार हामीलाई नै फसाउँछु भन्दै हिँडीरहेको छ । त्यो डरले हामीले चलिरहेको होटल अहिले बन्द गराएका छौँ । किनभने पुलिस लगाएर चरेश हालेर तिमीहरुलाई थुन्दिन्छु भनेपछि हामीले फसाउने डरले होटल बन्द गरेका छौँ । महिनाको ९ देखि १० लाख नोक्सान भइरहेको छ । हामी कुनै पार्टीसँग आवद्ध छैनौँ, कुनै सिपाहि, डिएसपी हामीले चिनेका छैनौँ । हामीले नियम कानुन अनुसार व्यापार गरेका छौँ । विशुद्ध भक्तपुरको पर्यटनलाई टेवा पुर्याउने हाम्रो चाहाना हो । तर, लगभग ५ महिनादेखि हाम्रो होटल बन्द छ ।’

याे पनि पढ्नुहाेस्

उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारबाट यसरी ठगिए मनसुन दम्पती