उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारबाट यसरी ठगिए मनसुन दम्पती

उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारबाट यसरी ठगिए मनसुन दम्पती

सुदीप विश्वकर्मा

काठमाडौं, २२ फागुन । ५ वर्षअघि मनसुन विक्रम साह ‘मणि’ जापानको टोकियो युनिभर्सिटिमा ग्राजुएशन गरेपछि नेपाल फर्किए । भक्तपुर सुर्याविनायक बस्दै आएकी सरु महतसँग उनको विवाह भयो । विवाहपछि नेपालमै ‘केही गर्ने’ हुटहुटीले मनसुनलाई होटल व्यावसायको दुनियाँमा धकेलिदियो ।


३ वर्षअघि मनसुनले श्रीमती सरुसँगको सहकार्यमा भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा ‘होटल डे कोटियार्ड’ सञ्चालनमा ल्याए ।


‘नेश्नल जोग्राफीका साथीहरु डकुमेन्ट्री बनाउन आउँदाखेरी मेरो होटलमा बस्नुहुन्थ्यो । मेरो आर्ट र कल्चर उहाँहरुले मनपराउनु हुन्थ्यो । स्थापनाको ६ महिनामा पर्यटन क्षेत्रमा कोटियार्ड होटल भक्तपुरको गन्न लायक होटलमा परिवर्तन भयो,’ मनसुनले आफ्नो कथा प्रारम्भ गरे, ‘ट्रिप एडभाइजरबाट पनि हामीले अवार्ड पाएका थियौँ । विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पनि हामीले पाएका थियौं । बुकिङ डटकम, अगोडा लगायतबाट अनलाईन बुकिङ हुन्थ्यो ।’


होटल चलेको थाहा पाएपछि उद्योग वाणिज्य महासंघको पूर्व उपाध्यक्ष, भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्ष कृष्ण प्रसाद ताम्राकार सम्पर्कमा आए ।


‘उहाँ कृष्ण प्रसाद दाई छोटकरीमा केपी भनेर चिनिनुहुन्छ । उहाँ राम्रो स्थानिय हो ’ भन्दै नजिककैका पसलेले चिनजान गराइदिए । त्यहि दिन बेलुका ताम्राकारले मनसुनकै होटलमा खाने कुरा खाए । त्यो भन्दा अगाडी मनसुनले ताम्राकारलाई चिनेका थिएनन् ।


२ दिनपछि कृष्ण प्रसाद ताम्राकार उनको होटलमा फेरी आए ।


‘कोटियार्ड राम्रो चलेको छ’ भन्दै उनले मनसुनको तारिफ गरे । मनसुनसँग होटलको राम्रो ज्ञान भएको थाहा पाएका ताम्राकारले आफ्नो भूकम्पले विग्रीएको महलमा होटल सञ्चालन गर्ने सोच सुनाए ।

‘उहाँले मेरो भूकम्पले विग्रिएको राम्रो प्रोपर्टी छ । होटल कन्सेप्टको लागि बनाएको हो । एक चोटी भिजिट गरौँ भनेको दुई तिनदिन पछि म उहाँको प्रोपर्टी हेर्न गएँ,’ मनसुनले भने,‘त्यो पुरानो मोडलमा बनेको र भूकम्पले पिलरहरु डिस्ट्रोए गरेको थियो । त्यो रन गर्न लायकको थिएन । मेन्टेन गरेर होटल चलाउन लायकको थियो । पछाडी खाली जग्गा पनि थियो ।’


ताम्राकारसँग होटल यातु नामको कम्पनि थियो । उक्त होटलमा उनका भाई सुर्य ताम्राकार लगायत पार्टनर थिए । सोही कम्पनिमा शेयर लगानी गर्न ताम्राकारले मनसुनलाई तीन पटकसम्म प्रस्ताव गरे । उनले लगानी गर्ने सोच बनाए ।


२/३ करोड लगानी गरेपछि राम्रै प्रोपर्टी बन्ने मनसुनको सोच थियो । हल, स्विमिङ पुल, किचेन ३५ वटा रुम भएपछि राम्रै हुन्छ उनले सोचे । सम्बन्धको विश्वास बढ्दै थियो । उनको श्रीमति र होटल कोटियार्डको नाममा शेयर राखेर अगाडी बढ्न ताम्राकार ले नै आइडिया दिए ।


मनसुन आफ्नो चलिरहेको होटल चाडेर होटल यातुको निर्माणमा लागे ।


‘पार्टी गर्न मिल्छ २ सय देखि ३ सय जनासम्मका लागि अस्थायी हल बनाउँ भन्ने कुरा भयो । फाइबर र स्टिल राखेर हामीले हल बनायौँ । म गएपछि दुई वटा आउट डोर बार बनायौँ,’ मनसुन भन्छन्, ‘एउटा स्विमिङ पुल बन्यो । मेरै पैसाबाट सोलार सिस्टम र एसि लगायत काम भयो ।’


०००


२०७४ जेठ २७ गते ।


मनसुनकी श्रीमती सरु र उनले सञ्चालन गरेको होटल कोटियार्डको नाममा शेयर प्रमाण पत्र आयो । जसमा कृष्ण प्रसाद ताम्राकारको भागमा एक लाख चार हजार थान शेयर थियो ।

यता सरु महत र होटल डे कोर्टियाडको जम्मा ९८ हजार थान शेयर थियो अर्थात ताम्राकारको ५२ प्रतिशत र मनसुनको ४८ प्रतिशत साझेदारी । शेयर प्रमाण पत्र लिनुअघि मनसुनले ताम्राकारलाई ९६ लाख रुपैयाँ जम्मा गरिदिएका थिए ।


शेयर प्रमाण पाएपछि मनसुनको विश्वास झनै आकाशियो ।


‘हामीलाई निर्धक्क भयो । म विहान ५ बजेदेखि बेलुका १० बजेसम्म खट्थेँ । कहिले खाना उतै हुन्थ्यो कहिले उहाँ हाम्रैमा खानु हुन्थ्यो,’ मनसुन सम्झन्छन्,‘ हामीलाई भक्तपुरमा अभिभाकत्व अनुभव हुन्थ्यो । हामीले लगानी गर्दै गयौँ । उहाँले धेरै पटक ४/५ लाख रुपैयाँ क्याँस माग्नु हुन्थ्यो । हामीले क्यास पनि लगेर दियौँ । जसको प्रमाण भएन । हामी विश्वासमा टिकेका थियौँ । लगभग ३५ लाख जति नगद दियौँ । सहमति थियो प्रोपर्टी २० वर्षको लागि चलाउने, महिनाको भाडा उहाँ सहित यातु होटलले ४ लाख तिर्ने, ५२ प्रतिशत शेयर हुने।’


नेटवर्कदेखि सिसि क्यामेरा लगायत जोडेपछि होटल कम्प्लिट भयो ।


२०७४ कार्तिक ५ गते होटल उद्घाटन गर्ने भन्ने मिति तोकियो ।


निमन्त्रणा कार्डहरु छापिए । मनसुनले क्यानडामा भएका आफ्ना पिता, साथीहरुलाई अक्टोबर २० अर्थात २ दिनअघिको हवाई टिकट बुक गराए ।


होटल उद्घाटनको ७ दिन अघि एक व्यक्तिलाई ताम्राकारले व्यवस्थापकको रुपमा भित्र्याए ।
‘उ कुन्साङ लामा । मेरो साथीको छोरो हो । उसले ठमेलमा होटलमा चौध पन्ध्र वर्ष काम गरेको छ । उसलाई होटलमा रेसिडेन्टल म्यानेजरको रुपमा राखौँ’ ताम्राकारले यसो भनेपछि मनसुनले ‘हुन्छ’ भने ।


व्यवस्थापकको रुपमा प्रवेश गर्न लागेका कुन्साङलाई मनसुनले सोधे,‘आफ्नो बारेमा केही भन ।’
कुन्साङले बायोडाटा देखाउँदै भने,‘घर मेरो काभ्रे हो । गणेश लामा चिन्नु हुन्छ नी, उहाँ र म एउटै टोलको हो । हामी दाजु भाई हो ।’


यस्तो परिचय पाएपछि मनसुन झस्किए ।


गणेश लामा डन, गुण्डा भनेर उनले सुनेका थिए । ‘होटल यातुको लागि राम्रो हुँदैन । भोली विभिन्न समस्या आउन सक्छ । यो मान्छे हुँदैन’ कृष्ण प्रसाद ताम्राकारलाई उनले यस्तै यस्तै भनिदिए ।
मनसुनले म्यानजेर आफू भन्दा म्याचुअड र पाको हुनुपर्ने सर्त राखेका थिए । जसलाई उनले पनि रेस्पेक्ट गर्न सकुन् ।

उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्ण प्रसाद ताम्राकार


मनसुनको यो जावाफले ताम्राकारलाई विझायो । ‘उहाँ त्यति कुरामा रिसाउनु भयो । किन नहुने ? कसरी नहुने ? भन्दै प्रश्न गर्नु भयो । उहाँको नियत रहेछ गणेश लामाको मान्छे खटाउने र हामीलाई ह्यारेसमेन्ट गराउने अनि हाम्रो लगानी खाने,’ मनसुनको आरोप छ,‘त्यतिबेला हामीलाई थाहा भएन ।’

दुई सञ्चालक बीच असमझदारी भएपछि उद्घाटन कार्यक्रम रद्द भयो ।


उनले विदेशको साथी र आमा बुवाको टिकट क्यान्सिल गरे । गणेश लामाको मान्छे भनिएका कुन्साङ लामा होटलको व्यवस्थापनमा आए । मनसुनले यातुलाई चासो दिन छाडिदिए । उनी कोटियार्ड होटल नै चलाएर बसे ।


अर्को महिनामा भक्तपुर उद्योग वाणिज्य संघको ५० वर्ष पुगेको स्वर्ण महोत्सवमा स्मारिका प्रकाशन गर्ने तयारी थियो । सोही स्मारिकामा उनले कोटियार्डको विज्ञापन दिए । स्मारिका प्रकाशन भयो । स्मारिकको अन्तिम पृष्ठमा त्यहाँ होटल यचुको विज्ञापन थियो ।


होटल यातुकै सम्पत्ति , त्यही फोटोलाई याचुको नाममाल स्मारिकाको अन्तिम पेजमा विज्ञापन देखेपछि मनसुन छाँगाबाट खसे जस्तो भए ।


‘बल्ल हामी ठगियाैँ भन्ने थाहा भयो । ताम्राकारले आफ्नो श्रीमतिको नाममा होटल याचु कम्पनि दर्ता गरेछन्,’ मनसुनले भने,‘त्यसपछि मैले फोन गरेँ । तर मेरो फोन काटिन थाल्यो । भाइब, म्यासेन्जरमा धेरै कुरा गरेँ । उनले भन्न थाले तैँले जे सक्छस् गर, जहाँसुकै जा । मैले भाइबरमा भनेँ,‘तपाईं एक्लै चलाउने भए चलाउनुस् । तर हाम्रो हिसाब किताब गर्नुस् । जति मैले त्यहाँ श्रम पसिना बगाएको छु । त्यसको मलाई केही चाहीँदैन । तर, मेरो शेयर लगानी दिनुस् ।’

आफू ठगिएको थाहा पाएका मनसुनले ताम्राकारबाट धम्की पाउन थाले ।


पीडित मनसुनले भाइबर मार्फत आफू कानुनी बाटोमा जाने बताएपछि भने एकदिन ताम्राकार भेट्न राजी भए ।


‘मिटिङमा चालिस पैँचालिस लाख मात्रै दिन्छु । जे गर्छस् गर भनेपछि समाधान निस्किएन । हामी फर्किएर आयौँ,’ मनसुनले भने ।


ताम्राकारले मनसुनको फोन ब्लक गरिदिएका थिए । वेभसाइट डेप्लोपरलाई पहिलेको होटल यातुको वेव पोर्टल बन्द गर्न धम्की आउन थाल्यो ।


२०७४ चैत्र १२ गते ।


उनी आफू ठगिएको भन्दै न्याय माग्दै प्रहरीको शरणमा पुगे ।


भक्तपुर जिल्ला प्रहरी परिसरमा प्रहरी उपरिक्षक किरण राणा प्रमुख थिइन् । ठगीको जाहेरी लिएर प्रहरी कार्यालयमा पुगेका मनसुन र उनकी पत्नि सरुलाई न्याय दिनुको सट्टा प्रहरीले जाहेरी लिएन ।
‘त्यसपछि हामी प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीमा पुग्यौँ ।

प्रहरी अनुसन्धान केन्द्रीय ब्युराेमा चढाएकाे जाहेरी

सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्की हुनुहुन्थ्यो । उहाँले हाम्रो जाहेरी हेरेपछि एसपी जीवन श्रेष्ठलाई हाम्रो मुद्दा हेर्न निर्देशन दिनु भयो ।

एसपी श्रेष्ठ र डिएसपी कवित कटुवाल मिलेर ताम्राकारलाई फोन गर्नु भयो । भोलीपल्टै ताम्राकार सिआइबीको कार्यालय महाराजगञ्ज आए,’ सिआइबीले लिएको एक्सन सम्झँदै मनसुन भन्छन्, ‘ मसँगै श्रीमती र उनको मामा पनि गयाैँ । छलफलपछि ताम्राकारले शेयर लगानी भएको रकम एक हप्ता भित्र फिर्ता कमिटमेन्ट गर्नु भयो । हामी त्यहाँबाट छुट्यौँ ।’


तर एक हप्तासम्म केही खबर आएन ।


००००


क्रमश :

याे पनि पढ्नुहाेस्

उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष ताम्राकारको ‘ठगीधन्दा’मा सांसद बस्नेत, एसपी श्रेष्ठकै सेटिङ !

उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्ण प्रसाद ताम्राकारबाट यसरी ठगिए मनसुन दम्पती

Trending News